काठमाडौं। विश्वभर आक्रान्त पारिरहेको कोरोना महामारीले नेपालको शैक्षिक क्यालेण्डरलाई लथालिङ्ग नै बनेको छ। विगत १० महिनादेखि लगातार विद्यालय बन्द हुंदा पठन–पाठन अत्यन्त प्रभावित बनेको छ। गत चैतमा लकडाउन भएदेखि बन्द भएका नेपालका शैक्षिक संस्थाहरू अझै खुलिसकेका छैनन् । जसका कारण देशका करिब ९० लाख विद्यार्थीको शैक्षिक सत्र नै खेर जाने हो कि भन्ने आशंका पनि बढेको छ।

यो विषम परिस्थितिमा शिक्षा मन्त्रालयले चालु शैक्षिक सत्रलाई आगामी जेठ महिनामा सक्ने र असारदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने प्रस्ताव गरेको छ। चालु शैक्षिक सत्र कहिले अन्त्य गर्ने अनिश्चित भइरहेको अवस्थामा शिक्षा मन्त्रालयले यो वर्षको शैक्षिकसत्र जेठ महिनामा सक्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ। शिक्षा मन्त्रालयले शैक्षिकसत्र व्यवस्थापन र परीक्षाको विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको हो।

शिक्षक, प्रदेश, स्थानीय सरकार र सम्पूर्ण सरोकारवाला सबैको राय सुझाव लिएर पेस गरिएको प्रस्तावमा विसं.२०७८ सालको असारबाट नयाँ शैक्षिकसत्र शुरु गर्ने योजना छ। सामान्यतयः वैशाखबाट शुरु गरिने शैक्षिक सत्र २०७८ सालको असारबाट शुरु गर्ने र सो शैक्षिक सत्रलाई १० महिनामा सीमित गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव छ। शैक्षिक सत्रलाई पुरानै लयमा फर्काउन दुई–तीन वर्ष लाग्ने शिक्षा मन्त्रालयको भनाइ छ।

गत वर्षको माध्यामिक शिक्षा परीक्षाको जिम्मा विद्यालयललाई दिदाँ विद्यालयहरूले लापरवाही गरेकाले मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड मार्फत नै कक्षा ९ र रजिष्ट्रेसन फाराम तथा एसईईको आवेदन फारम खुलाएको छ। यद्यपि एसईई परीक्षा सञ्चालनको जिम्मा कसलाई दिने भन्नेमा अझै निर्णय भईसकेको छैन।

तल्ला कक्षाको मुल्याङ्कन विद्यालय आफैँले गर्ने भएकाले मन्त्रालयको प्रस्तावले सबै स्थानीय तहको शैक्षिक सत्रलाई समेट्न सक्ने विश्वास मन्त्रालयको छ। वैकल्पिक माध्यमबाट भएको पढाइ प्रभावकारी नहुँदा स्थानीय तहहरूको निर्णयबाट फरक–फरक समयमा विद्यालय सञ्चालनमा ल्याइएको छ।


प्रकाशन मिति–२०७७ साल पुस १६ गते विहीवार ।