ललितपुर । चिसोमा गोदावरीको लप्सेस्थित देउराली आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । उक्त विद्यालयका कक्षा १ देखी ५ सम्मका ३५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

योङ पिकासोको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बिएफबिएस गोर्खा रेडियो, भाटभटेनी सुपरस्टोर तथा लाइन्स क्लव अफ क्रिएटिभ वुमनको सहयोग रहेको थियो।
बालबालिकाहरुको जाडो याममा सहज पठनपाठनका लागि न्यानो कपडाले सहयोग गर्ने आयोजक संस्था योङ पिकासोका निर्देशक अजय देशारले बताएका छन्।

विद्यालय रहेको स्थानमा अत्यन्त कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुको बसोबास रहेकाले विद्यार्थीलाई शैक्षिक सामग्री जुटाउनसमेत अप्ठेरो अवस्थामा न्यानो कपडाले केही सहज बनाउने विद्यालयका निमित्त प्राधानाध्यापक मैया थपलियाको भनाई छ।  विद्यार्थीको सिकाइ क्रियाकलापमा नियमितिता आवश्यक भएकोेले विद्यार्थीले कुनै पनि बाहानामा पठनपाठन रोक्न नहुने भएकोले न्यायो कपडा वितरण गरिएको भनाई सहयात्राका निवर्तमान अध्यक्ष बालमुकुन्द आचार्यको तर्क छ।

कार्यक्रममा बालबालिकाहरुलाई ज्याकेट, मोजा तथा चित्रसम्बन्धी सामग्री प्रदान गरिएको हो। कार्यक्रम सहयात्रा नामक संस्थाको समन्वयमा संचालन भएको हो ।
तामाङ बस्तीको बाहुल्यता भएको गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित लप्सेमा कुनै पनि माध्यमिक विद्यालय छैन भने भएका दुईवटा आधारभूत विद्यालयमा पनि कपडा र शैक्षिक सामग्रीकै कारणले विद्यार्थी विद्यालयमा नियमित नहने समस्या देखिएको छ ।


प्रकाशन मिति–२०७७ साल पुस १७ गते शुक्रवार ।