काठमाडौ। हातमा सीपवान व्यक्तित्व जनक श्रेष्ठको लागि नेपाल नै अमेरिका बनेको छ। नेपाल नै कोरिया भएको छ। अनि नेपाल नै जापान, साउदी, दुबई सवै भएको छ।

कति विदेशवाट विभिन्न प्रलोभन सहितको अफर आउंदा पनि विदेश जाने लोभ अनि रहर जनकलाई कहिले पनि भएन। बरु, नेपालमा नै रोजगारको सिर्जना गरेर सयौंलाई सीप सिकाएर समृद्ध बनाउने कार्यमा जनक क्रियाशील बनिरहेका छन्। र निरन्तर बनिरहेका छन्।

विशेषत जनकको हातमा रहेको सीप भन्नु नै मेटलका चिम्नी,ट्याङ्का,दराज लगायतका सामाग्री तयार गर्नु हो। जुन सीप सीपवान आफ्नै दाजु कुमार श्रेष्ठसंगको लहलहैमा सहयोगी बन्दै दाजुवाटै सिकेका हुन्।

२५ बर्षअगाडि सानै उमेरमा दाजुवाट सिकेको यो सीप यतिखेर सयौंको लागि रोजगारीको माध्यम बनेको छ। आफूमात्र सीपवान नबनकिन दाजुवाट सिकेको यो सीपलाई सयौंलाई सिकाएर स्वदेश तथा विदेशमा उद्यमी बनाउने कार्य जनकवाट भएको छ।

सानो पसल–कवलबाट शुरुवात गरिएको यो सीपको करामतको रुपमा जनकले काठमाडौको टेकुरोडमा जे.के.मेटल इण्डष्ट्रिजको नै विकास गरेका छन्। जनकको यही जे.के.मेटलवाट उत्पादित मेटलका विभिन्न सामाग्री स्वदेश तथा विदेश सवैतिर पुगेका छन्।

मेटल व्यवसायमा जनक श्रेष्ठको नाम अग्रपंक्तीमा रहेको छ। अझ विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पको कारण कयनको घरबारको बर्बाद हुंदा टीनको तहरा तथा टीनकै कटेरा बनाइदिने तथा भूकम्पको कारण क्षति भएका घरहरुलाई फलामे टेवा लगाई दिने जस्ता मानविय सेवा लगायत कार्य जनकवाट भएको छ। जुन कार्यको सवैले मुक्तकण्ठले प्रशंशा गर्ने गरेको पाइन्छ।

मानविय सामाजिक सेवात्मक कार्यमा पनि निरन्तर अग्रसर जनक सवैलाई स्वदेशी सीप सिकेर स्वदेशमा नै त्यसको भरमग्दुर प्रयोग गर्न सकेमा विदेश जानै नपर्ने र नेपाललाई नै अमेरिका, जापान, कोरिया, दुबई बनाउन सकिने जिकिर गर्छन्।

विदेश जानै परेमा पनि यसप्रकारका सीप सिकेर जान सकेमा त्यहाँ भाडा माझेर बस्न नपर्ने र स्वाभिमानीपूर्वक जीवन यापन गर्न सक्ने दावी जनकको रहेको छ। आफ्नो सफलताको रहस्य आँट, आत्मविश्वास र जीवन संगीनी शोभाको साथ तथा सहयोग भएको कुरा पनि उनले खुलस्त भनेका छन्।

प्रकाशन मिति–२०७५ साल साउन १० गते विहीवार ।