Congress Flagकाठमाडौ। जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले नेपाली कांग्रेसको झन्डा र ब्यानर जलाएका छन्। आइतबार पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि चढेको गाडीको झन्डा र ब्यानर जलाइएको हो।

पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका नेपाली कांग्रेसका नेता निधिको स्वागतका लागि गाडीमा राखिएको झन्डा र ब्यानर खोसेर राजपाका कार्यकर्ताले जलाएका हुन्। स्थानीय शिव चोकमा राजपाका कार्यकर्ताहरुले कांग्रेसका कार्यकर्ता सवार गाडी रोकेर त्यसमा लगाएको पार्टीको झन्डा र ब्यानर खोसेर जलाएका थिए।

कांग्रेस नेता कार्यकर्ताहरु सवार रहेको गाडीमा लगाइएको झण्डा जलाउँदै राजपाका नेताहरुले प्रमुख दलहरुको विरोधमा चर्को नाराबाजी समेत गरेका थिए। निर्वाचनको प्रचारप्रसार गर्ने खालका कुनैपनि क्रियाकलाप कतैबाट भयो भने त्यसको विरोध आफूहरुले गर्ने र अहिले झण्डामात्र जलाइएको र यदि चुनावप्रचार प्रसार रोकिएन भने प्रचारप्रसारमा प्रयोग हुने गाडीलाई समेत नियन्त्रणमा लिएर जलाइने चेतावनी राजपाका नेताहरुले दिएका छन्।

प्रकाशन मिति–२०७४ साल जेष्ठ २८ गते आइतवार ।