काठमाडौ। गएराति जापानको दक्षिणी क्युशु व्दीपमा अवस्थित आसो पर्वत श्रृंखलामा ज्वालामुखी विस्फोटन भएको छ। जापानी जलवायु विज्ञान समितिले जनाएअनुसार जापानको विहान १ बजेर ४६ मिनेट जाँदा उक्त एक पर्वतको शिखरवाट ज्वालामुखी निस्केर ११ हजार मिटर आकाशमाथिसम्म खरानी र आगोको लप्का उठेको थियो।

japan-jwalamukhiजापानी जलवायु विज्ञान समितिले उक्त ज्वालामुखी विस्फोटन ५ औं स्केलको तेश्रो लेभलको मापन गरेको भनेर चीनिया अन्तरराष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले भनेको छ। सिन्ह्वाका अनुसार विस्फोटनका कारण पर्वतबाट ठूला–ठूला चट्टानहरु खस्ने सम्भावना रहेकाले मानिसहरुलाई उक्त क्षेत्रनजिक जान निषेध गरिएको छ। यस घटनाबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षति नभएपनि उक्त क्षेत्र वरपरका स्थानीय बासिन्दालाई ज्वालामुखीय ग्यास, लाभा र तातो खरानीबाट बच्नसमेत सो समितिले सचेत गराएको छ।

गत अप्रिलमा गएको ठूलो भूकम्पले दक्षिण–पश्चिमी जापानको अधिकांश भू–भागलाई शिथिल बनाएको कारण अहिले ज्वालामुखी विस्फोटन भएको हो कि भनी सो समितिले आशंका गरेको तर पुष्टि भने भैनसकेको जनाइएको छ। आसो पर्वतमाला जापानका अति सक्रिय ज्वालामुखीय पर्वत शृंखलाहरुमध्ये एक मानिन्छ।

प्रकाशन मिति–२०७३ साल असोज २२ गते शनिवार ।