काठमाडौ। जुम्लामा विगत २० दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर र दयनीय बन्दैगएपछि सरकारले हस्तक्षेप गरेरै भएपनि काठमाडौ ल्याइएको छ। डा.केसीको जीवन रक्षाको खातिर काठमाडौ ल्याएर उपचार गर्नु अत्यन्त आवश्यक भएको कारण देखाएर सरकारले ल्याएको हो।

जुम्लास्थित कर्णाली स्वास्थ्य प्रतिष्ठानमा अनसनरत रहेका डा.केसीलाई काठमाडौ ल्याउने क्रममा डा.केसी र प्रहरी वीच धरपकड नै भएको थियो। डा.केसीलाई काठमाडौवाट लिन पुगेको टोलीलाई अस्पताल परिसरमा समेत प्रवेश निषेध गरेपछि त्यहाँ प्रहरी र डा.केसी समर्थकवीच घम्साघम्सी नै भएको थियो। त्यसक्रममा प्रहरी अस्पताल प्रवेश गरेर लाठी र अश्रुग्यास प्रहार गर्न बाध्य बनेको प्रहरीले जनाएको छ।

करिब ७ घण्टाको जुम्लामा तनाव भएपछि त्यो तनावलाई शान्त पार्न डा.केसीको मृत्यु भएको झूठो माइकिङ गरेरै भएपनि डा.केसीलाई सफलतापूर्वक काठमाडौ ल्याउन सफलता प्राप्त गरेको छ। काठमाडौ ल्याउने क्रममा जुम्लाको झडपमा ३५ जना घाइते बनेको प्रहरीले भनेको छ।

जुम्लावाट विशेष चार्टर गरिएको नेपाली सेनाको हेलिकप्टरले काठमाडौको टुंडिखेलमा अवतरण गरेको लगतै डा.केसीलाई नजिकैको बीर अस्पतालमा लगिएको थियो। बीर अस्पतालमा डा.केसी बस्न नमानेपछि त्रिविवि शिक्षण अस्पताल लगेपछि त्यही उपचार भैरहेको अस्पतालले जनाएको छ।

प्रकाशन मिति–२०७५ साल साउन ३ गते विहीवार ।