काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हवाई उडानमा लगाइएको रोक आगामी जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्तरिक र बाह्य उडानमा लगाइएको रोक जेठ २ गतेसम्म बढाउने निर्णय गरेको हो।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले यसअघि वैशाख १८ गतेसम्म उडान बन्द गर्ने निर्णय भएकोमा त्यसलाई १५ दिन बढाइएको बताएका छन्। उच्चस्तरीय समितिले ‘लकडाउन’को अवधि के गर्ने भन्ने विषयमा भने निर्णय लिन सकेन।

बैठकमा लकडाउन प्रभावकारी भएको निष्कर्ष निकालिएको र वैशाख १५ गतेपछि के गर्ने भन्ने विषयमा निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद्लाई दिइएको उनले बताए। आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनबारे निर्णय गर्ने जनाइएको छ।


प्रकाशन मिति–२०७७ साल बैशाख १३ गते शनिवार ।