काठमाडौ। काठमाडौ उपत्यकामा थामी नसक्नुको दिनहुँको ट्राफिक जामले सर्वसाधारण सवै हैरानमा परेका छन्। त्यो हैरानीलाई केही हदसम्म दूर गर्न नेपाल सरकारले साना केही यातायातलाई विस्थापित गर्ने नीति लिएको छ। राससका अनुसार यात्रु थोरै बोक्ने माइक्रोबस तथा मिनी माइक्रो लगायतका सवारी साधनलाई विस्थापित गरेर सुविधासंपन्न ठूला सवारी भित्राउने नीति सरकारले लिएको छ।

Traffic jam

त्यसको लागि यातायात व्यवस्था विभागले कार्य शुरु गरिसकेको छ। यो एक बर्षभित्र करिब ५० प्रतिशत सवारीसाधन विस्थापित गरिने विभागले भनेको छ। आगामी फागुन महिनाको तेश्रो हप्तादेखि २० बर्ष पुगेका सरकारी तथा नीजि सवारी साधनलाई पनि विस्थापित गर्ने गृहकार्य विभागले गरेको छ।

विभागले काठमाडौँ दिगो सहरी यातायात आयोजनाले अध्ययन गरी यातायात सेवा सञ्चालन गर्न त्यसले दिएको सुझाव अनुसार काठमाडौँमा सञ्चालन गरिने ठूला सवारीसाधनलाई विस्थापित गर्न लागिएको महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार विभागले यातायात व्यवस्थापनको कार्य गर्नका लागि सवारी तथा यातायात व्यवस्था ऐनका साथै सवारी तथा यातायात व्यवस्था नियमावलीको नीतिगत व्यवस्थालाई आवश्यकता अनुसार संशोधन तथा परिवर्तन गर्नका लागि सरोकार पक्षसँग सुझाव लिने र सरकारलाई सुझाव दिने छ।

उक्त आयोजनाले सडक दुर्घटना न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय प्रचलनअनुरुप ट्राफिक सङ्केत सार्वजनिक स्थानमा राख्न सुझाव दिएको छ । काठमाडौँ उपत्यकाका करिब ३५ स्थानमा अत्याधुनिक ट्राफिक लाइट राखिने छ। उपत्यकाका विभिन्न सार्वजनिक स्थानमा अन्तर्राष्ट्रिय प्रचलन अनुसारका रङ, आकार र नमुना बमोजिमको ट्राफिक सङ्केत जडान गरिने छ।
प्रकाशन मिति–२०७३ साल माघ ६ गते विहीवार ।