काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा कोरोनाभाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि इजरायलले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, पन्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेड लगायतका सामग्री हस्तान्तरण गरेका हुन।

त्यसक्रममा मन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि अत्यन्त महत्वपूर्ण हुने हुने बताउँदै अप्ठेरो अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएर कोरोनाभाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न नेपाली जनताको साथमा इजरायल सरकार छ भन्ने सन्देश दिएको धारणा व्यक्त गरेका छन्।

इजरायल सरकारले पीपीई सेट सुट एण्ड ट्राउजर, फेससिल, गगल्स, मास्क र पञ्जा ५० थान, पीपीई बडी कभर ५ सय थान, थर्मोमिटर ५० थान, पन्जा १ सय ३० थान, स्यानिटाइजर ५ लिटरको ४० जार, स्यानिटाइजर ५ सय एमएलको २ सय ३० बोतल, सोडियम डिसइन्फेक्टेड १ सय जार, पञ्जा ५ सय थान, सर्जिकल मास्क ५ सय थान र अन्य मास्क ४ हजार थान सहयोग स्वरुप उपलब्ध गराएको हो।
प्रकाशन मिति–२०७७ साल असार २ गते मंगलवार ।