काठमाडौं। तराई–मधेसको महान पर्व छठ पर्वअन्तर्गत शुक्रबार दोस्रो दिन ‘खरना’ मनाउने कार्य भएको छ। छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिलाई ‘रसियाव रोटी’पनि भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन्।

 

साँझपख नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुल्हो बनाएर सख्खर राखेर खीर तथा माटोको भाँडोमा गहुँको रोटी पकाउँछन्। उक्त ‘रसीआव रोटी’ चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरुले खाने गर्दछन्। त्यसपछि उनीहरु पानीसमेत नपिई व्रत बस्छन्।

जतिवटा अर्घ दान गर्ने हो, त्यति ठाउँमा केराको पातमा राखेर छठीमातालाई नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान, सुपारी आदि राखिन्छ। नैवेद्य चढाइसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्छन्। कठोर व्रत गरेर मनाइने छठ पर्व कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिबाट विधिवत शुरु भई सप्तमी तिथिमा बिहान सूर्यलाई अर्घ दिएर समाप्त हुन्छ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ पर्व विधिवत रुपमा बिहीबारबाट शुरु भएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले सूर्यको उपसना गरी छठ पर्व मनाउने गरिन्छ।

चार दिनसम्म चल्ने छठ पर्व बिहीबारबाट विधिवत शुरु भएको छ। अहिले काठमाडौं उपत्यकासहित तराई मधेसका जिल्लामा छठको विशेष रौनक छ। नदी, पोखरी र खोला किनारहरुमा बनाइएको छठ घाट झकिझकाउ छन्। छठीमाताको भक्तिगानले गुन्जिरहेका छन् ।
प्रकाशन मिति–२०७६ साल कात्तिक १५ गते शुक्रवार।