काठमाडौं। नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको आमा हेलम्बु यातायातको बा ५ ख ५०७० नम्बरको यात्रुबाहक बस बिहीबार दिउँसो काठमाडौँ जिल्ला साँखुस्थित शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको नाङ्लेभारे प्रहरी चौकीका प्रमुख आङकाजी शेर्पाको भनाई रहेको छ। ओरालोमा अनियन्त्रित भई बस सडक छेउको मन्दिरमा ठोक्किएर सडकमा पल्टिएको थियो।

बसमा ५० यात्रु रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको साँखु स्थित सुषमा कोइराला मेमोरियल अस्पताल, लाइफ केयर अस्पताल तथा नेपाल मेडिकल कलेज जोरपाटी, अत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको यकिन सङ्ख्या र मृतकको पहिचान खुलेको छैन्।
प्रकाशन मिति–२०७६ साल कात्तिक १४ गते विहीवार ।