काठमाडौं। हाइभोल्टेजको हाइटेन्सनको करेन्ट लागेर दुवै हात गुमाएकी विराटनगरकी २२ बर्षिया मेघा घिमिरेले नयाँ जीवन पाउने भएकी छन्। अमेरिकाको मेरिल्याण्डमा दुवै हात गुमाएकी मेघाको कृत्रिम हात प्रत्यारोपण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।

नारायण–रिना मेमोरियल फाउण्डेसनकी अध्यक्ष तथा बहुमुखी प्रतिभाकी धनी रिमा केसीको पहल तथा सहयोगमा मेघाले नयाँ जिन्दगी पाउन लागेकी हुन्। अमेरिकाको मेरिल्याण्डवाट रिमा केसीले भिजन संसार डटकमसंगको संक्षिप्त कुराकानीमा दुई हप्ता अघि अमेरिका आएकी मेघाको संपूर्ण खर्च आफ्नो फाउण्डेसनले व्यहोरेर मेघाको खोसिएको खुशी फिर्ता ल्याउने प्रयास भैरहेको जानकारी दिएकी छन्।

रिमाका अनुसार, मेघाको अर्को हप्तासम्म कृत्रिम हात प्रत्यारोपण गरिदैछ। त्यसको लागि संपूर्ण नाप, जाँच र छालाको कलरअनुसारको कृत्रिम हात प्रत्यारोपण गर्ने कार्य हुंदैछ। त्यसको लागि मेघालाई मानसिक तथा शारीरिक रुपमा तयार पार्न अमेरिकाका चिकित्सकहरुले गरिरहेका छन्। त्यसका लागि मेघा पनि मानसिक रुपमा तयार भैसकेको जानकारी रिमा केसीको भनाई रहेको छ।

मेघामा प्रत्यारोपण गर्न लागेको कृत्रिम हातले सामान्य कार्यहरु मज्जाले गर्न सकिनेछ। धन भएर नभइकन मन नै ठूलो बनाएर मेघाको दर्दनाक अवस्था देखेर आफूले अमेरिकासम्म ल्याएर मेघाको कृत्रिम हात राख्ने कार्य गर्दैगरेको अमेरिकामा नर्सिङ पेशामा आवद्ध रिमा केसीले भिजन संसार डटकमलाई भनेकी छन्। स्वर्गवासी पिता नारायण केसी र बहिनी रिना केसीको संझनामा नारायण–रिना मेमोरियल फाउण्डेसन खोलेर थोरबहुत भएपनि सामाजिक सेवा गर्दैआएको रिमाले खुलासा गरेकी छन्।

प्रकाशन मिति–२०७६ साल कात्तिक १५ गते शुक्रवार ।