काठमाडौं। बामपन्थी मसिहा काठमाडौंका अत्यन्त लोकप्रिय नेता पदमरत्न तुलाधरको तस्बीर अंकित हुलाक टिकट प्रकाशन गर्न सरकार सकारात्मक देखिएको छ।

पदमरत्न लुमन्ती गुठीको आयोजनामा सामाजिक अगुवा नरेशवीर शाक्य तथा ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यको नेतृत्वमा शुक्रवार सिंहदरवारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीलाई ज्ञापन–पत्र बुझाएपछि सरकार सकारात्मक भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले ज्ञापन पत्र बुझ्दै बामपन्थी मसिहा पदमरत्न तुलाधरको तस्बीर अंकित हुलाक टिकट प्रकाशन गर्न सरकार सकारात्मक भएको उल्लेख गरेका छन्।

विसं.२०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा स्वतन्त्र बामपन्थी उम्मेदवारको रुपमा सूर्य चिन्ह लिएर निर्वाचनमा होम्मिएका पदमरत्नको लागि भोट माग्दै हिंड्ने आफूपनि एक भएको मन्त्री भट्टराईले खुलासा गरे।

पछि पदमरत्नसँगै चौतारामा करिब एक महिना जेल पनि बसियो। पदमरत्नले नेपाली प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको आन्दोलनको सम्मान सरकारले निश्चित रुपमा गर्ने मन्त्री भट्टराईले भनेका छन्।
पञ्चायत कालमा विसं.२०४३ सालमा जनपक्षीय उम्मेदवारका रुपमा सूर्य चिह्न लिई राष्ट्रिय पञ्चायत सदस्यमा बहुमतले निर्वाचित पदमरत्न तुलाधरले राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग गरेर सबैलाई तीन छक्क अठार दंगै पारेका थिए।

पदम रत्न तुलाधरले बहुदल घोषणापछि विसं. २०४८ र विसं.२०५१ सालमा निरन्तर दुई पटक काठमाडौँबाट सूर्य चिह्नमा चुनाव जितेका थिए। विसं.२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा श्रम र स्वास्थ्य मन्त्रीको कार्यभार समेत तुलाधरले सम्हालेका थिए।

तर, एमाले र माले फुटेपछि विसं.२०५६ सालमा भएको संसदीय निर्वाचनमा स्वतन्त्र वामपन्थीका रुपमा चुनाव लडेका पदमरत्न त्यो बेला भने पराजित बनेका थिए। त्यसपछि पदमरत्न कहिल्यै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिएनन्।
प्रकाशन मिति–२०७६ साल कात्तिक १५ गते शुक्रवार ।