काठमाडौं। आज महामानव भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन महापरिनिर्वाण प्राप्त गरेको तीन संयोगको दिन अर्थात बुद्ध जयन्ती । पश्चिम नेपालको कपिलवस्तुको तिलौराकोटमा महामानव भगवान बुद्धको २५६४ बर्षअगाडि आजकै दिन जन्म भएको हो।

भगवान बुद्ध जन्मेको पावनभूमि नेपाल लगायत बुद्ध धर्मलाई आत्मसात गर्ने मुलुकहरुमा आज २५६४ औं बुद्धजयन्ती मनाउने कार्य भैरहेको छ। बैशाख शुक्ल पूर्णिमाको दिन मनाउंदैआएको बुद्ध जयन्तीमा बुद्ध बन्दना, बुद्ध पूजा लगायतका कार्य गरेर बुद्ध जयन्ती मनाउने परम्परा रहेतापनि नेपालमा जारी लकडाउनले संभव भएको छैन्।

यसलेगर्दा शिलप्रार्थना लगायतका सामान्य नित्य कार्य गरेर औपचारिक सवै कार्यक्रम स्थगित भएको छ। जसको कारण भगवान बुद्धको जन्मस्थल लुम्बिनी लगायतका स्थान सुनसान नै देखिएको छ। लुम्बिनी विकास कोषले हरेक वर्ष बैशाख शुक्ल पूणिर्माका दिन आयोजना गर्ने बुद्ध जयन्ती मूल समारोह र यस वर्ष आयोजित तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समेत बैशाख १९ गते नै सूचना प्रकाशित गरी स्थगित गरिसकेको छ।

चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन र अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरिएका कारण लुम्बिनीमा विदेशी मात्र नभई आन्तरिक पर्यटकको आगमनसमेत चैत तेस्रो सातादेखि नै शून्य रहेको लुम्बिनी विकास कोषले जनाएको छ। विगतमा हरेक वर्ष बुद्ध जयन्तीका दिन स्वदेशी र विदेशी गरी कम्तीमा दश हजार जना मानिस लुम्बिनीको दर्शन र भ्रमणमा आउने गरेको भएतापनि यो बर्षभने शुन्य भएको छ।

बुद्ध जयन्तीका अवसरमा आज बिहीबार बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहान सामाजिक दुरी कायम गरी बौद्ध भिक्षु–भिक्षुणी तथा लामा गुरु–गुरुआमाहरुबाट विश्व शान्तिको कामना गर्दै प्रार्थना गरिएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख २५ गते विहीवार ।