काठमाडौं। संघ–संस्थाको आवश्यकता भनेको विपदको बेला नै हो। यतिखेर नेवाः पत्रकार राष्ट्रिय दबूमा आवद्ध पत्रकारहरुले यस्तै महशुश गरेको छ। कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन सरकारले जारी लकडाउनमा विभिन्न वर्गजस्तै पत्रकार वर्ग अझ धेरै पीडामा रहेको सर्वविदितै छ।

स्वास्थ्यकर्मीहरु जस्तै फ्रन्टलाइनमा कार्यरत पत्रकारहरुको लागि राज्य र सरकारले खासै केही राहत नदिएको अवस्थामा नेवाःपत्रकार राष्ट्रिय दबूले आफू आवद्ध १४० पत्रकारहरुलाई थोरबहुत भएतापनि राहत दिन सकेको जानकारी नेवाःपत्रकार राष्ट्रिय दबूका बरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताएका छन्।

बरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेवाःपत्रकार राष्ट्रिय दबूमा आवद्ध पत्रकारहरुलाई आफूहरुले सक्दो सहयोग जुटाएर भएपनि थोरबहुत भएपनि विपदको विषम स्थितिमा सहयोग दिन सकेकोमा अलिकति भएपनि संतुष्टि भएको भनेका छन्।

त्यस्तै, नेवाःपत्रकार राष्ट्रिय दबूका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले दबू आवद्ध पत्रकारहरुलाई दुई चरण गरेर घर–घरमा नै राहत पुर्याउने व्यवस्था गरेको जानकारी दिएका छन्। त्यसक्रममा कतिपय अशक्त तथा विरामी पत्रकारहरुले विपदको बेला दबूले यसप्रकारले प्रदान गरेको राहतवाट हर्षको आँशु चुहाउंदा साँच्चै नै दबू मार्फत आफूहरुले राम्रो काम गरेजस्तो महशुश भएको कोषाध्यक्ष श्रेष्ठको जिकिर रहेको छ।

विपदको ताजा अपडेटका समाचार निरन्तर प्रवाह गर्ने पत्रकारहरु स्वयम् लकडाउनका कारण विपदमा पर्दा राज्य र सरकारले बेवास्ता नै गरेको वर्तमान अवस्थामा आफूहरुको टीमले विशेष पहल सहित राहत दिन सकेको कोषाध्यक्ष श्रेष्ठको भनाई छ। लकडाउन लम्बिदै गएको अवस्थामा थप राहतका प्याकेज आफूहरुले ल्याउने सोच गरिसकेको जानकारी बरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दिएका छन्।

यस कार्यमा टीम नै सवै परिचालित भएको अवस्था भएतापनि तीन पत्रकारहरु अनुप प्रधान, सन्देश मुनिकार र कीर्तन जोशीले विपदको राहत वितरण गर्ने कार्यमा ठूलो सहयोग गरेको कुरालाई बरिष्ठ उपाध्यक्ष श्रेष्ठले दिल खोलेर तारिफ गरेका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख २५ गते विहीवार ।