काठमाडौं। नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले देशलाई निर्दलीयतामा धकेल्ने षडयन्त्रको शुरुवातभएको दावी गरेका छन् । निर्वाचन आयोगले नेपाः पार्टी लगायत ४१ वटा राजनीतिक दल खारेज गरेको विषयमा नेपाः पार्टीका अध्यक्ष डा. सैंजुले यस्तो भनेका हुन् ।

आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको सूचना प्रकाशन गरे लगत्तै अध्यक्ष डा. सैंजुले आयोगको निर्णयको विरोध गर्दै पत्रकार सम्मेलन गरेर आफ्नो दलको धारणा प्रस्तुत गरेका छन्। आफ्नो धारणा सार्वजनिकगर्ने क्रममा सैंजुले आयोगले क्रमबद्ध रुपमा विभिन्न बहानामा राजनीतिक दलहरु खारेज गर्दै देशमा निर्दलीय तानाशाही व्यवस्था ल्याउने षडयन्त्रको शुरुवात देखिएको भनेका छन्। आयोगको दल खारेजीको निर्णय संविधानको धारा २६९ को उपधारा २, ३, ४, ५ विपरित रहेको सैंजुको भनाइ छ।

संविधानमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि आयोगले जिल्लाप्रशासन कार्यालयले गैरसरकारी संस्था खारेज गरे सरह बहुदलीय व्यवस्थामा दलखारेज गरेको भन्दै सैंजुले आक्रोश पोखेका छन्। यसै बीच १९ गते दलदर्ता खारेजीको निर्णय गरेको आयोगले १८ गते भने विभिन्न दलहरुलाई २० हजार जरिवानातिर्दै दलदर्ता नवीकरण गर्नका लागि पत्राचार गरेको तर आफुहरुलाई अहिलेसम्म दलखारेजीको कुनै औपचारिक जानकारीसम्म पनि प्राप्तनभएको गुनासो सैंजुको रहेको छ।
प्रकाशन मिति–२०७८ साल साउन २७ गते बुधवार ।