काठमाडौं। दाहाल–नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाएको छ। मंगलबार काठमाडौंको बबरमहल स्थित कार्की ब्याँक्विटमा बसेको बैठकले अलोकतान्त्रिक, प्रतिगामी, निरङ्कुश र पार्टी एकताको विरुद्धमा काम गरेकाले केपी शर्मा ओलीलाई अनुशासासनको कारबाही गरी पार्टी अध्यक्षको पदबाट मुक्त गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। यस्तै बैठकले रिक्त रहेको अध्यक्षको पदमा वरिष्ठ नेता माधवकुमार नेपाललाई मनोनित गरिएको जनाएको छ।

बैठकले प्रतिनिधि सभा विघटनालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरङ्कुश ठहर गर्दै अस्वीकार गर्दै यसको विरुद्धको संघर्ष गर्ने निर्णय गरेको छ। यस्तै बैठकले बालुवाटारमा मंगलबार भएको ओली समूहको केन्द्रीय समिति बैठकलाई भेलाको संज्ञा दिँदै गुटको गतिविधि भएको निष्कर्ष निकालेको छ।

यस्तै मंगलबारको बैठकले स्थायी कमिटीले प्रस्ताब गरेअनुसार पूर्वसभामुख कृष्णबहादुर महरालाई नेकपा स्थायी समिति सदस्यमा सर्वसम्मतले मनोनित गरेको छ। बैठकमा नेकपाको ४ सय ४१ केन्द्रीय सदस्यमध्ये ३ सय १५ जनाको उपस्थित थिए। दाहाल नेपाल समूहको अर्को केन्द्रीय समिति बैठक पुस ९ गते ११ः३० बजे बबरमहलमै बस्ने जनाएको छ ।
प्रकाशन मिति–२०७७ साल पुस ७ गते मंगलवार ।