काठमाडौं। इन्टरनेशनल हवाइ उडानमा दुई नेपाली महिला पाइलटले इतिहास रचेका छन्। त्यसरी इतिहास रच्ने दुई नेपाली महिला पाइलटमा भावना पन्त र को–पाइलट सिर्जना रावत हुन्।

यी दुई नेपाली महिला पाइलटले नेपालको ध्वजाबाहक नेपाल वायुसेवा निगमको ककपिटको कमाण्डिङ गरेर इन्टरनेशनल उडान गरेका छन्। यी दुई नेपाली महिला पाइलट भावना पन्त र को–पाइलट सिर्जना रावतले आइतबार काठमाडौंबाट न्यारोबडी एयरबस ३२० उडाएर दुबईमा सफल अवतरण गरेका हुन् ।

यिनै महिला पाइलट जोडीले अर्को उडान दुबईबाट काठमाडौंका लागि पनि गर्दै छन्। महिला चालक दलले इन्टरनेशनल उडानको कमान्ड सम्हाल्नु नेपालका लागि ऐतिहासिक भएको नेपाल बायुसेवा निगमले जनाएको छ ।

निगमको इन्टरनेशनल उडानमा महिला पाइलटको नेतृत्व नौलो होइन । क्याप्टेन पन्त आफैँले पाइलट सिटमा बसेर इन्टरनेशनल उडान गर्दै आइरहेकी छिन् । अर्की वरिष्ठ पाइलट सोनी राणाले निगमको बोइङ ७५७, एयरबस ३२० र एयरबस ३३० जहाजको कमान्ड सम्हालेर धेरै उडान गरेकी छिन् । तर, को–पाइलट पनि महिला नै रहेको इन्टरनेशनल उडान भने पहिलोपटक भएको निगमले खुलासा गरेको छ।

नेपालमा  ८५ मात्रै महिला पाइलट

नेपालको आन्तरिक तथा इन्टरनेशनल उडान (जहाज र हेलिकोप्टर)मा महिला पाइलटको संख्या ८५ पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेपालमा हालसम्म अनुमति पाएका जहाज उडाउने ४०२ पाइलटमध्ये महिला पाइलट २७ छन् भने ५२८ को–पाइलटमध्ये ५४ महिला छन् । यस्तै, हेलिकोप्टर उडाउने ३३ पाइलटमध्ये एक महिला र ८१ को–पाइलटमध्ये तीन महिला छन् ।

जहाज उडाउन इजाजत पाएका पाइलट (महिला र पुरुष) मध्ये अहिले क्याप्टेनतर्फ १८४ र को–पाइलटतर्फ १५६ मात्र सक्रिय उडानमा सहभागी छन् । एक हजार ४४ पाइलटमा ८५ महिला भनेको ८ प्रतिशत हो ।

प्रकाशन मिति–२०७९ साल फागुन २२ गते सोमवार ।