Banu Jayantiकाठमाडौ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज असार २९ गते २०४ औं जन्मजयन्ती परेको छ। देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरेर मनाएका छन्। नेपालको राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो।

भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए। उनका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् । भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउने गरेका छन्। नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम दार्जिलिङ आसाम र डुवर्सलगायतका स्थानमा विशेष कार्यक्रम गरेर भानु जयन्ती मनाउने गरिएको छ।

मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो । उनीभन्दा अघि नेपाली भाषामा लेख्ने कविहरु भए पनि तिनका रचनामा नेपाली, हिन्दी, संस्कृत, वज्र आदि भाषाको मिश्रण हुन्थ्यो । भानुभक्तको रामायण नेपाली भाषामा लेखिएको सरस, सरल र श्रुतिमधुर भई सबै नेपालीका घरघरमा पढिन्थ्यो, जसले गर्दा पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरणमा भावनात्मक एकीकरण गराउन योगदान मिल्यो।

पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका उनले हजुरबुवा श्रीकृष्णबाट शिक्षा पाउनाका साथै घाँसीले घाँस घाटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गरे। सोही प्रेरणावाट भानुभक्तले रामायणको नेपाली भाषामा अनुवाद गरेका थिए। रामायणको नेपाली भाषामा अनुवाद भएपछि नै नेपाली भाषाको व्यापक प्रचार प्रसार भएको मानिएको छ। यसलेगर्दा पनि भानुभक्तलाई नेपाली भाषाको आदिकवि भनिएको हो।
प्रकाशन मिति–२०७४ साल असार २९ गते विहीवार ।