–निशान बुढाथोकी
काठमाडौं। तनहुँ जिल्लामा जन्मिएका धनमान गुरुङ चिन्नेहरुका लागि यो नाम अत्यन्त प्यारो नाम हो । सबैलाई सहयोग गर्ने, सबैलाई समान व्यवहार धनमानको परिचय नै बनेको छ। अर्कोतर्फ रमाइलो स्वभावका व्यक्तित्व धनमानको सामान्य जीवन शैली बिताउने सोच भने उच्च छ।

आफ्नो बाल्यकाल सम्झिनुपर्दा त्यो बेलाको परिस्थिति फरक थियो । गाउँमा न त बाटो बनेका थिए, न त नजिक कुनै बिद्यालय नै । शिक्षा र स्वास्थ्यको लागि अभाव नै थियो। अहिलेको जस्तो घर आँगनमा बिद्यालय थिएन । १, २, ३ कक्षा पढिसकेपछि बाँकी पढ्नको लागि कम्तिमा पनि ४ देखि ६ घण्टा सम्म हिड्नुपर्ने अवस्था थियो ।
पढ्ने इच्छा तिब्र थिए तर नजिक बिद्यालय थिएनन् ।

३ कक्षा पढिसकेपछि भाषा पाठशाला पढ्ेका धनमान गुरुङले पढ्दै जाँदा विसं.२०२९ सालमा एस एल सी पास गरेका हुन् । जियोग्राफी अर्थात भूगोल विषयमा उच्च अंकका साथमा मास्टर डिग्री गरेका धनमान गुरुङले आफ्नो गाउँमा सधैभरि आदर र सम्मान नै पाए।

ठूलो परिवारमा जन्मिएका धनमान गुरुङका परिवारको परिवेश ब्रिटिश आर्मी, इन्डियन आर्मी रहेको छ। धनमान गुरुङलाई त्यही पारिवारिक परिवेशले ब्रिटिश आर्मीमा जानुपर्छ भन्ने दबाब आएपनि आफूलाई चाहना नभएको कारण त्यतातिर नगएको बताएका छन्। विभिन्न संघ संस्थामा काम गरेर धेरै अनुभव बटुलेका धनमान गुरुङको सोच पुरुष मात्र होइन महिलाहरु पनि अघि बढ्नु पर्छ भन्ने रहेको छ।

यही सोचका धनी धनमानले एउटा घर सुन्दर बनाउन अनि एउटा पुरुष सफल हुन महिलाको महत्वपूर्ण भूमिका रहने जिकिर गरेका छन्। आफ्नो जीवन संगिनी आफूले खोजेको जस्तै विश्वासिली र मायालु भएकोमा आफूलाई भाग्यमानी सम्झिन्छन्।

कविता गुरुङसंग विवाह बन्धनमा बाँधिएको ३४ औं बसन्त पार गरिसक्दा पनि आफूमा उत्तिकै माया, ममता एवं विश्वास कायम रहेको बताउछन्। मायाले संसार जितिन्छ र विश्वासले माया बढ्छ भन्ने कुरा आफ्नै जीवनबाट सिकेको खुलासा पनि गर्न धनमान गुरुङले भनेका छन् ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल भाद्र १८ गते शुक्रवार ।