काठमाडौं। नेपालको संघीय राजधानी काठमाडौं उपत्यकाको दुःख पनि खोलानाला नै रहेको छ। नदी किनारवाट हुर्किएको काठमाडौं उपत्यकाको सभ्यतामा खोलानाला तथा नदी–तलाउको उचित संरक्षण र उचित प्रयोग नहुंदा तथा जथाभावी मिच्ने अनि फोहर फाल्ने माध्यम वनाउंदा सभ्यताका प्रतिक काठमाडौंका नदीनाला असारको बर्षा याममा बढी दुःखका रुपमा देखिएका छन्।

काठमाडौं संघीय राजधानीमा समेत अविरल बर्षाका बेला भेल बग्ने अनि घर–कोठामा खोला पस्ने पीडा त छंदैछ। अर्कोतर्फ वाग्मती, विष्णुमती, गोदावरी, हनुमन्ते, टुकुचा, मनोहरा तथा अन्य खोलानाला हुँदै बग्ने दुवैतर्फका तटीय क्षेत्र अतिक्रमित गरी बनाइएका संरचनाले जोखिम बढाइरहेको ठहर छ। वैज्ञानिक नापनक्साबिनै घर तथा भौतिक संरचना बनाउन दिने प्रवृत्तिका कारण पनि वर्षायाममा बाढी र डुबान हुने र त्यसबाट मानवीय क्षतिको पनि जोखिम औंल्याइएको छ।

कागेश्वरी–मनोहरा नगरपालिका–७ र ९ मनोहरा खोला करिडोर बस्ती, कीर्तिपुर नगरपालिकाका सल्यानथान, ट्याङ्लाफाँट, सुन्दरीघाट, काठमाडौं महानगरपालिकास्थित लाजिम्पाट, टुकुचा खोलाको आसपास, तारकेश्वर नगरपालिकाको जरङखु तथा शान्ति टोल, गुम्बा–नयाँपुल करिडोर, वनस्थली ढुंगेधारा क्षेत्र, धोबी खोला–मैतीदेवी र थापाथली, चन्द्रागिरि नगरपालिकाका थानकोट, नमुना बस्ती, ढुंगेअड्डा पशुपति ट्रान्सपोर्ट क्षेत्र, बालकुमारी मन्दिर आसपास, लामाचौर, खड्कुलेपुल, कञ्चनबस्ती, विष्णुदेवी आसपासलाई डुबानको उच्च जोखिममा राखिएको छ।

कागेश्वरी–मनोहरा नगरपालिका–८ गोठाटारस्थित वाग्मती नदी करिडोर, त्रिपुरेश्वरदेखि टेकुसम्म वाग्मती किनार, कलंकी–बल्खु खोलालाई बाढीग्रस्त क्षेत्रमा राखिएको छ। दक्षिणकालीका चुत्रघारी र हुमाने, म्हैपी मन्दिर परिसर, नागार्जुन नगरपालिका–८ स्थित भीमढुंगा, छकडोल र टौखेल, चन्द्रागिरिका नागढुंगा, पिप्लामोड राजमार्ग क्षेत्र, ढाक्छी, गैरीगााउँ, गोदाम केबलकार आसपास र कंकाली डाँडा इलाका पहिरोको उच्च जोखिममा समेटिएका छन्। तर यी क्षेत्रमा बस्ती व्यवस्थापन र पूर्वतयारीका लागि कुनै पहल भएको छैन्। शान्तिनगर, सुकुम्बासी बस्ती, बुद्धनगर वागमती करिडोर, धोबीखोला करिडोर, बूढानीलकण्ठस्थित धोबीखोला करिडोर पनि जोखिमको सूचीमा छन्।

भूकम्पबाट क्षतिपछि सामान्य मर्मत गरिएका वसन्तपुर, झोंछे, मखन र रक्तकाली, इन्द्रचोक, असनलगायत क्षेत्रसमेत जोखिमको सूचीमा छन्। भक्तपुरका कौशलटारबाट बालकोट जाने पुल, मनोहरा सुकुम्बासी क्षेत्र, नरेफाँट, दिव्यश्वरी जग्गा एकीकरण, सागबारी, नयाँ ठिमी, कमेरोटार, राधेराधे निकोसेरा, सल्लाघारी इवामुरा अस्पताल क्षेत्र, कालीघाट खसाङखुसुङ खोला किनार, मंगल तीर्थ मन्दिर, राम मन्दिर, चुपिङघाट, सिद्धि स्मृति, लिवालीलगायत क्षेत्र डुबानको जोखिममा छन्।
ललितपुरका गोदावरीस्थित टोकलबास, छम्पी, हुनमाठ, गोदावरी बडिखेल, मानडाँडा, विष्टछाप, उनिउचौर, कतुन भन्ज्याङ, ठोस्ने खोला, चौघरे, तिप्चे भन्ज्याङ, शंखु, दल्चौकीको ठोस्ने खोलालगायत क्षेत्र पहिरोको जोखिममा छन्।

प्रहरी प्रधान कार्यालयले शुक्रबार गृह मन्त्रालयमा पेस गरेको प्रतिवेदनमा काठमाडौं उपत्यकाको यो जोखिम संलग्न रहेको छ। देशभरिको बाढी, पहिरो, डुबान, कटान र अन्य विपद्सम्बन्धी विवरण काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा बाढी, १७ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किनेलगायत प्रकोप हुन सक्ने भन्दै यसविरुद्ध बेलैमा सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

त्यस्तै ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिम रहेको र यस क्षेत्रवरपर विपद् प्रतिकार्य योजना प्रभावकारी रूपमा लागू गर्न सुझाव दिएको छ । भक्तपुरमा डुबान २२, बाढी ८ र पहिरो १३ स्थानमा जान सक्ने प्रक्षेपण गरिएको छ।


प्रकाशन मिति–२०७७ साल असार ९ गते मंगलवार ।