काठमाडौं। नेपाल संवत अनुसारको नयाँ वर्ष ११३९ को अवसर पारेर भिक्षु धम्मालोक महास्थवीरको चित्र अंकित चाँदीको सिक्का निष्कासन भएको छ। भिन्तुना गुथिले उक्त चाँदीको सिक्का निष्कासन गरेको हो। अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु धम्ममुर्ति महास्थवीरले उक्त सिक्काको काठमाडौंको भोटाहिटी स्थित दगुवहालमा विमोचन गरेपछि निष्काशन गरिएको हो।

आनन्दकुटी विहारका कार्यवाहक अध्यक्ष समेत रहेका भिक्षु धम्ममुर्तिले नेपालभाषा र वौद्ध धर्मको उत्थानमा भिक्षु धम्मालोकको योगदानको चर्चा गरेका थिए। नेपालभाषामा लेखेको र वौद्ध धर्म प्रचार गरेको भन्दै राज्यले देश निकाला गर्दा समेत भिक्षु धम्मालोक भाषा र धर्मप्रति निरन्तर क्रियाशील रहेको समयलाई भिक्षु धम्ममुर्तिले सिक्का विमोचन कार्यक्रममा स्मरण गरे।

भिन्तुना गुथिले ने.सं. ११२५ देखि निरन्तर रुपमा नेपाल सम्वतको नयाँ वर्षको अवसरमा नेपालभाषाको उत्थानमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुको चित्र अंकित चाँदिको सिक्का निष्काशन गर्दै आएको छ। यस वर्ष गुथिको चौधौं सिक्का निष्कासन भएको हो। यो सिक्का ११३९ वटा मात्रै निष्कासन गरिएको गुथिका पूर्वअध्यक्ष विद्यासागर तुलाधरले बताएका छन्।

गुथिका अध्यक्ष उपेन्द्रकाजी शाक्यले गुथिले वर्षेनी नेपालभाषा सेवीको चित्र अंकित चाँदिको सिक्का निष्कासन गर्नुका साथै इन्द्रजात्राको दिनमा असनमा समयबजि प्रदर्शनी, सेतो मच्छिन्द्रनाथको रथ असनमा ल्याउँदा यःमरि छर्नुका साथै रथमा ध्वजा चढाउने र पाहांचःहेको समयमा चतांमरि छर्ने लगायतका सांस्कृतिक गतिविधिको साथमा समय समयमा सांगितिक कार्यक्रम वसन्त उत्सवलाई पनि निरन्तरता दिँदै आएको जानकारी दिएका छन्।
प्रकाशन मिति–२०७५ साल कात्तिक १२ गते सोमवार ।