काठमाडौं। नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौं महानगरपालिका १९ वडा शाखा कमिटीको आयोजनामा नायःखिं बाजा प्रशिक्षणका गुरुहरुलाई सम्मान तथा प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरेको छ।

प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले उक्त सम्मान तथा प्रमाण–पत्र प्रदान गरेका थिए। गुरुहरुलाई नेपाल राष्ट्रिय खड्गी समाजका केन्द्रीय अध्यक्ष मानबहादुर खड्गीले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने सांसद श्रेष्ठले सम्मान पत्र प्रदान दिएका थिए।

गत भाद्र १६ गतेदेखि करिब दुई महिना नायःखिं बाजा प्रशिक्षण कार्यक्रम भएको थियो। प्रशिक्षण लिएका बालबालिका समेतको समूहले कार्यक्रममा नायःखिं बाजा बजाएर सुनाउँदा सभाहलको रौनक नै बेग्लै बनेको थियो। प्रशिक्षणमा २८ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो।

नेपाल राष्ट्रिय खड्गी समाजका केन्द्रीय महासचिव नन्दकिशोर शाहीले युवा पूस्ताले परम्परागत संस्कृति छोड्दै पाश्चात्य संस्कृतितर्फ आकर्षित हुँदै गइरहेको तथ्यलाई औल्याए। कार्यक्रममा प्रदेश ३ का सांसद राजेश शाक्यको पनि उपस्थिति रहेको थियो।
प्रकाशन मिति–२०७५ साल कात्तिक १२ गते सोमवार ।