–श्याम स्मृत
काठमाडौं। काठमाडौ कलंकी निवासी सरोजा खड्कालाई रातपरेपछि भ्याइँनभ्याइँ हुने गरेको छ । सात बर्षको छोरो सन्दुकलाई ख्वाइपिलाई गरेर बहिनी सन्ध्याको जिम्मा लगाएर काममा जानु नियमित उनको दिनचर्या भएको छ ।

ठमेलको दोहरी रेष्टुरेन्टमा विगत पाँच बर्षदेखि वेटर पदमा कार्यरत उनी यसलाई काठमाडौंमा बाँच्नुको बास्तविकता भन्छिन् । राति अबेरसम्म ग्राहकको अर्डर टिप्ने कार्यमा व्यस्त हुनुपर्ने उनको नियमित दिनचर्यामा अनेकन ग्राहक आउने गर्दछन् ।

कतिले त सरोजाको सुन्दरता देखेर प्रेम प्रस्ताव मात्र होइन, विवाह समेत गर्ने कयन प्रस्ताव आइसकको उनले स्वीकारेकी छन् । यो सवै ग्राहकको आत्मा बोलेको नभइकन उनीहरुले महंगो रकम तिरेर खाएको रक्सी बोलेको भन्ने कुरा उनलाई थाहा छ । पहिला पहिला यस्ता कुराबाट नमज्जा लाग्ने भएतापनि हाल यस्ता कुरालाई उनले सामान्य मान्न थालेका छन् । त्यस्ता प्रस्ताव राख्ने ग्राहकलाई हुन्छ पनि नभन्ने र हुन्न पनि नभनिकन मुसुक्क हाँस्ने उनको बानी भैसकेको छ ।

पांच बर्षअघि काठमाडौको प्रतिष्ठित बैकमा जागिरे श्रीमानले विभिन्न बहानामा अनेकन शंका–उपशंका गर्ने तथा राति अवेर जाँड खाएर आएर झगडा गर्ने स्वभावबाट उनी हैरान बनेकी रहिछिन् । जसबाट शंकालु श्रीमानबाट छुटकारा पाउन श्रीमानबाट एक सुक्का नलिइकन डिभोर्स गरेर छोरो हुर्काउन तथा पढाउन उनी यस व्यवसायमा लागेको बताएकी छन्। नाइट लाइफ कतिको लागि रमाइलो तथा रंगिन नाइट बनेतापनि हामी जस्ता नाइट लाइफमा काम गर्नेहरुको लागि ज्यान पाल्ने बाँध्यताको कार्य हो ।

दोलखाबाट ठमेलमा आएर विगत सात बर्षदेखि रिक्साको रात्री सेवा पु-याउँदै आएका सन्तु तामाङ्गले यही पेशा गरेर दुई सन्तान र श्रीमती सहित चार जनाको परिवार पालिरहेको बताए । रातको ९ बजेबाट ठमेल वरपर रिक्सा चलाउने र करिबन विहान ५ बजेसम्म चलाउने गरेको उनले भने । अरु उठ्ने बेलामा आफू घरगएर खाना खान जाने र दिनभर सुत्ने गरेको उनको भनाई रहेको छ । नाइट लाइफमा विशेषत दोहरी, डान्सबारबाट आउने ग्राहकहरुलाई सर्भिस दिने कार्य उनीबाट भएको छ।

विशेषत त्यस्ता ग्राहकहरुलाई होटल तथा गेष्टहाउसमा पु-याउने कार्य सन्तु तामाङ्ग जस्ता सयौ रिक्सा चालकहरु नाइट लाइफमा कार्यरत रहेको पाइएको छ । रिक्साको नाइट सर्भिस निक्कै रिश्क कार्य पनि हो । मदिराले लठ्ठिएका प्राय युवा–युवतीलाई उनीहरुले भनेका होटल तथा गेष्टहाउसमा सकुशल पु-याउनु पर्दछ ।

त्यसरी मातिएका युवा–युवतीहरुले रिक्सामा नै कोठाभित्र गर्ने हरकत गर्दा लाजमर्दो हुने गरेको कतिपय घटना भएको अर्का रिक्सा चालक बाह्रबिसेका सुन्दर परियारले बताए । होटल तथा गेष्टहाउसमा ग्राहकलाई पु¥याएर फर्कने क्रममा एकान्त स्थानमा कतिपय स्थानिय गुण्डाहरुबाट पिडित हुनुपरेको घटना पनि उनीहरुसँग रहेको छ । पैसा मागेको बेलामा दिन नसक्दा खुकुरी तथा छुरा देखाएर रातभरको कमाई लुट्नेहरु पनि त्यहाँ सक्रिय रहेको उनीहरुको गुनासो रहेको छ ।

नाइट लाइफमा रिक्सा चलाएर परिवार पाल्ने तथा छोराछोरीलाई काठमाडौंको महंगा स्कुलमा पढाउने सन्तु र सुन्दर जस्ता रिक्सा चालकहरुले सिजनको बेला भनेजस्तो ग्राहक पाउने बेलामा एक रातमा नै पाँच देखि सातहजारसम्म पनि कमाउने गर्दछन् । उनीहरुको सिजन भनेको बैशाख देखि कात्तिकसम्मको समय हो । जुनसमय सिजन हो भने, जाडोयाम चाहिँ अफसिजन हो । “अफसिजनमा पनि कहिलेकाही राम्रै आम्दानी हुने गर्दछ”–सुन्दर परियार मुस्कुराउँदै भन्छन् ।

होटल अन्नपूर्णका ड्युटी मेनेजर तौप्रसाद गुरुङ्ग नाइट लाइफमा रम्नेहरु स्वदेशी तथा विदेशीहरु पहिलाको तुलनामा निक्कै बृद्धि भैरहेको स्वीकार्छन् । जसले गर्दा तारे होटलहरुमा पनि नाइट लाइफको लागि भनेर मनोरंजक गीत–गजल, डान्स तथा क्यासिनो बार राखिने गरेको बताउँछन् । तारे होटलका नाइट लाइफ व्यवस्थित र सुरक्षित हुने भएकोले तारे होटलमा नै रमाउनेको जमात बढ्न थालेको मेनेजर गुरुङ्गको भनाई रहेको छ ।

दिनभरको अनेकन टेन्सन तथा थकाइबाट हैरान बनेका प्रायको गन्तव्य नाइट लाइफ हुन थालेको छ । नाइट लाइफ भनेपछि पहिला धेरैको सोचाई नकारात्मक हुने गरेतापनि हाल आएर यस लाइफलाई सकारात्मक भन्नेहरुको जमातमा कुनै कमी छैन्। उच्च घरानिया धनाढ्यहरु फुर्सद पाउनासाथ नाइट लाइफमा रम्न पुगिहाल्छन् । हार्डवेयर सप्लायर तथा ठेकेदार शंभुनाथ पहिला नियमित रुपमा सोल्टी,याक एण्ड यति, अन्नपूर्णका क्यासिनोमा गएर नाइट लाइफ विताउन जाने गरेको भएतापनि हाल ती क्यासिनोमा नेपालीलाई प्रवेश गर्नमा प्रशासनले कडाइ गर्न थालेपछि ठमेलका विभिन्न डान्स रेष्टुरेन्ट तथा दोहरीमा यदाकदा जाने गरेको सुनाउँछन् । मनलाई रमाइलो पार्ने उदेश्यले नै जाने गरेको उनले स्वीकारेका छन्।

आफूलाई समाजसेवी भन्न रुचाउने रत्नकुमारी पुनमगर क्यासिनो डान्समा गएर नाइट लाइफ विताउने पटक्कै मन नभएको र यदाकदा टिपिकल नेपाली लोकदोहरीको डान्स रेष्ुटुरेन्टमा गएर नाँच्न अत्यन्त रहर लाग्ने गरेकोले फुर्सद मिल्नासाथ माइनलाई फ्रेस गर्न जाने गरेको बताएकी छन् । नाइट लाइफलाई नराम्रो दृष्टिकोणले हेर्न नहुने उनको धारणा रहेको छ । नाइट लाइफ अव आवश्यकता बनिसकेको पनि उनले भनेकी छन् ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल भदौं २१ गते शनिवार ।