Pushpa Kamal Dahal

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन सफल बनाउन देशवासीलाई आह्वान गरेका छन्। मंगलबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशवासीलाई सम्बोधन गर्दै दाहालले सरकार सबै प्रकारका चुनौतीलाई चिर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न प्रतिबद्ध रहेको बताए।

एक करोड ४० लाख जनताले ३५ हजार बढी प्रतिनिधि छान्ने भएकाले सबैलाई गम्भीर भएर चुनावमा होमिन दाहालले आग्रह गरे । स्थानीय चुनावमा ४० प्रतिशत महिला सहभागी हुने भन्दै प्रधानमन्त्री दाहालले दलित प्रतिनिधि पनि हरेक वडामा हुने बताए।

प्रधानमन्त्री दाहालले आफूले संविधान संशोधन र निर्वाचनलाई एकसाथ अघि बढाउन प्रयास गरेपनि सफल नभएको भन्दै मतपत्रमार्फत् आफ्ना असन्तुष्टि व्यक्त गर्न मधेसी मोर्चालाई आग्रह गरे । अब हुने स्थानीय चुनाव कुनै नियमित प्रक्रिया नभएको भन्दै दाहालले लोकतान्त्रिक गणतन्त्र र समावेशीतालाई संस्थागत गर्न चाहने सबैपक्ष यो प्रक्रियामा सहभागी हुनुपर्नेमा जोड दिए।

संविधानलाई अधिकतम् स्वीकार्य बनाउन संशोधनमा सहमति जुटाउने प्रयासलाई जारी राखिने भन्दै प्रधानमन्त्री दाहालले आगामी माघ ७ गतेभित्र तीनओटै तहको निर्वाचन हुन नसके मुलुक संवैधानिक र राजनीतिक रिक्ततामा जानेप्रति सबै सतर्क हुनुपर्ने पनि बताए।

विखन्डनकारीलाई परास्त गर्ने भन्दै उनले निर्वाचनका लागि सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताए। हिमाल, पहाड र तराई कसैको पनि अतिवादलाई स्वीकार गर्न नसकिने भन्दै प्रधानमन्त्री दाहालले अब ‘विनासका लागि होइन, विकासका लागि छलफलमा बस्न’ दलहरुलाई आह्वानसमेत गरे।

प्रधानमन्त्री दाहालले राजस्व संकलन बढेको, लोडसेडिङ अन्त्यको प्रक्रिया थालनी भएसँगै मुलुक उज्यालो युगमा प्रवेश गरेको, फास्ट ट्रयाक, हुलाकीमार्ग र अन्य राष्ट्रिय गौरवका आयोजनाहरुको कामले गति लिएको भन्दै आर्थिक विकासका लागि सबै दल र समुदायको साझा प्रयास आवश्यक भएकोमा पनि जोड दिए।
प्रकाशन मिति–२०७३ साल फागुन १७ गते मंगलवार ।