काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमणमा जाने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि युरोपस्थित स्वीटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने जानकारी दिएका हुन्।

भ्रमणका क्रममा सुरुमा स्वीटजरल्याण्डको जेनेभास्थित अन्तर्राष्ट्रिय श्रम संगठनको सभामा सहभागी हुने र त्यसपछि जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने तथा नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले बताए। बेलायतमा रहँदा प्रधानमन्त्री ओलीले समकक्षी थेरेसा मेसँग पनि औपचारिक भेटवार्ता गर्ने छन्।

परराष्ट्रमन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले जेठ २९ मा फ्रान्समा उच्चस्तरीय भेटवार्ता गर्ने छन्। त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा पनि छलफल गर्नेछन्। भ्रमण सकेर ओली असार १ गते स्वदेश फर्किने छन्।
प्रकाशन मिति–२०७६ साल जेठ १९ गते आइतवार ।