काठमाडौं। कीर्तिपुर नगरपालिकाले आ.व.२०७७/०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ । नगरलाई हरित सडक र खाद्य सडकको अवधारणा अनुरुप शुक्रवार कीर्तिपुरमा आयोजित कार्यक्रममा खाद्य सडक बनाउने कार्यान्वयनको शुभारम्भ भएको हो ।

यस प्रकारको अवधारणा ल्याउने नेपालकै पहिलो नगरपालिकाको रुपमा कीर्तिपुर नगरपालिका हुन पुगेको छ। कीर्तिपुर नगरपालिका वडा नं. ४ र ९ मा पर्ने फ्युखा नगरको बाटोको दायाँबायाँ वृक्षारोपण गरी नगरलाई खाद्य सडक बनाउने कार्य भएको छ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले टिमुरको बोट रोपी यसको शुभारम्भ गरेका हुन। साथै उपमेयर सरस्वती खड्का, वडा नं. ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँ, ९ का वडा अध्यक्ष गंगाराम महर्जन, १० का वडा अध्यक्ष अमन महर्जन लगायत वडा सदस्यहरू र स्थानीयबासीहरूले वृक्षारोपण गरेका थिए। तेजपात र टिमुरका करिब १५० वटा विरुवा ती स्थानमा रोपिएको थियो । ती विरुवाहरू राष्ट्रिय वनस्पति उद्यान गोदावरीले उपलब्ध गराएको हो ।

वृक्षारोपण कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै राष्ट्रिय वनस्पति उद्यान, गोदावरीका कार्यालय प्रमुख दीपक लामिछानेले नगरलाई खाद्य सडक बनाउने नयाँ सोच ल्याएकोमा कीर्तिपुर नगरपालिकालाई हार्दिक धन्यवाद् दिएका छन् । उनले टिमुर र तेजपात जस्ता विरुवाहरू रोपेकोमा यसलाई आवश्यक स्याहार गर्न अनुरोध गर्दै यी विरुवाहरू अत्यन्त महत्वपूर्ण रहेको र विदेश निर्यात गर्ने मध्ये उत्कृष्ट ५ स्थानका विरुवाहरू भएको बताएका छन् ।

ज्ञानबज्र महर्जनले सञ्चालन गरेको कार्यक्रममा उपमेयर सरस्वती खड्काले नगरपालिकाले नयाँ सोचका साथ कार्यान्वयन गरेको खाद्य सडकको महत्वको बारेमा प्रकाश पारेकी थिइन्।


प्रकाशन मिति–२०७७ साल साउन १५ गते विहीवार ।