काठमाडौं। नेपालको एक मात्र इनटरनेशनल एअरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो। धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि अव १४ घण्टाको मात्र हुने भएको छ।

मर्मतको अवधि १अप्रिल २०१९ देखि जुन ३० सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनः सुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानस्थलमा रहेको तीन किलोमिटर लामो एकमात्र धावनमार्ग मर्मत गर्न तीन महिना लाग्नेछ।

हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। उनले विमानस्थल मर्मत अवधिमा नियमित उडानमा कुनै कटौती नहुने स्पष्ट पारे। पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ। दैनिक ८० मिटरका दरले मिलिङ मेशिनका साथमा राति धावनमार्ग बनाइने भएको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कँदा पटकपटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत (रनवे रिह्याब) गर्ने योजना बनाएको हो।
प्रकाशन मिति–२०७५ साल चैत्र १८ गते सोमवार ।