काठमाडौं। नेपालको मौलिक नेपाली संवत नेपाल संवतलाई सवैले व्यावहारिक रुपमा प्रयोग गर्नु आवश्यक छ। केवल मुखमा मात्र नेपाल संवत नयाँ बर्ष तिहारको लक्ष्मीपूजाको भोलिपल्ट गोबद्र्धन पूजाको दिन मनाएर मात्र सार्थकता नहुने सरोकारवालाहरुको जोडदार राय र भनाई छ।

नेपाल संवत नयाँ बर्ष ११४२ का प्रचार प्रसार संयोजक अग्रज पत्रकार नृपेन्द्रलाल श्रेष्ठले नेपाल संवत नयाँ बर्ष ११४२ लाई भव्य तथा सभ्य रुपमा मनाएर यसको व्यावहारिक महत्वलाई सारा नेपालीले आत्मसात गर्न र गराउन आवश्यक भएको बताएका छन्। नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४२ ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार प्रसार संयोजक श्रेष्ठले नयाँ वर्षको दिन गरिने कार्यक्रमको सबै तयारी पूरा भइसकेको बताए।

न्हूदँ राष्ट्रिय समारोह समिति ११४२ का अध्यक्ष निरञ्जनरत्न शाक्यले यो बर्षको नयाँ वर्षका दिन यही शुक्रबार वसन्तपुरबाट भव्य तथा सभ्य रुपमा भिन्तुना र्याली निकाल्ने बताएका छन्। यसबाहेक सांस्कृतिक साँझ, पुस्तक विमोचन र बृहत भेटघाट कार्यक्रमको आयोजना गरिने अध्यक्ष शाक्यको भनाई छ । कार्यक्रम आयोजना गर्न अध्यक्ष शाक्यको नेतृत्वमा ८० सदस्यीय समारोह समिति गठन पनि गरिसकेको जानकारी गराएको छ।

गतवर्ष कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट भिन्तुना सभा, विचार गोष्ठी र सांस्वृmतिक कार्यक्रम गरिएको थियो । यसपटक महामारी केही कम भएको हुँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गरी नयाँ वर्ष मनाउने तयारी पूरा गरेको पनि अध्यक्ष शाक्यले भनेका छन्।

नेपाल संवत नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाःले देशका नाममा स्थापना गरी प्रचलनमा ल्याउनुभएको थियो । तत्कालीन समयमा साख्वाःले नेपाली जनताको ऋण मोचन गरेपछि नेपाल संवतको सुरआत भएको मानिन्छ । जसलाई नेपालको पहिचानको रुपमा स्थापित सम्बत पनि मानिएका छ ।

१३ वर्षअघि नै नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिए पनि राज्यले व्यवहारमा ग्रहण नगरेको कारण यस वर्ष ‘नेपालको पहिचान, नेपालको गौरव, राज्यले प्रयास गरोस् नेपाल संवत्’ भन्ने नारा बनाइएको छ । यस संवन्धमा अध्यक्ष शाक्यल प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाल संवतका सम्बन्धमा ध्यानाकर्षणपत्र पेश गरिएको पनि खुलासा गरे।

सो ध्यानाकर्षणपत्रमा नेपाल संवतलाई उचित सम्मान गरिनुपर्ने, नेपाल संवतलाई व्यवहारमा प्रयोगमा ल्याउनुपर्ने, नेपाल संवतलाई तत्काल राष्ट्रप्रमुख र सरकारी निकायहरुले प्रयोगमा ल्याउने लिखित दस्तावेजमा प्रयोग गरिनुपर्ने, नेपाली मुद्रा तथा नोटमा नेपाल संंवतको प्रयोग गरिनुपर्ने लगायतका माग उल्लेख गरिएको भनिएको छ।

कार्यक्रममा नेपालभाषा आन्दोलनका अगुवाहरु सुजीब बज्राचार्य, उमेश स्थापितले पनि नेपाल संवतको महत्व र आवश्यकताका वारेमा प्रकाश पारेका थिए।

प्रकाशन मिति–२०७८ साल कात्तिक १५ गते सोमवार ।