काठमाडौं। कोरोना कहरमा मास्कको महत्व र आवश्यकता निक्कै बृद्धि भएको छ। मास्क विनाको कोरोना कहरमा कल्पना नै गर्न नसकिने अवस्था रहेको छ। वर्तमान यस विषम परिस्थितिमा मास्कको महत्व र आवश्यकतालाई नेपाली जनताले मज्जाले बुझेको पाइएको छ। अझ मास्क उत्पादनमा नेपाल अग्रपंक्तिमा नै देखिएको छ।

नेपालमा उत्पादन भएका विश्व स्वास्थ्य संगठनको मापदण्डका मास्क स्वदेशमा मात्र खपत नभइकन विदेशमा पनि निर्यात भएको तथ्याङ देखिएको कान्तिपुर दैनिकको अनलाइन संस्करणले लेखेको छ। चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) सम्ममा ४ करोड १४ लाख ६७ हजार रुपैयाँ बराबरको फेस मास्क निर्यात भएको भन्सार विभागको तथ्यांक छ । यसमा ८ लाख ९७ हजार ४ सय ८७ थान र १ सय ६० केजी फेस मास्क निर्यात भएको हो ।

यसमध्ये सबैभन्दा धेरै मंसिरमा १ करोड १२ लाख २२ हजार रुपैयाँ बराबरको ३ लाख १६ हजार २ सय ८५ थान फेस मास्क निर्यात भएको तथ्यांकले बताउँछ । कात्तिकमा १ करोड ५ लाख ९७ हजार रुपैयाँ बराबरको ३ लाख ८ सय थान र भदौमा १ करोड ८५ लाख ४ हजार रुपैयाँ बराबरको २ लाख ६७ हजार ३ सय थान फेस मास्क बाहिर गएको छ ।

यसमा साउनमा मात्र ५ लाख ९ हजार रुपैयाँ बराबरको १ सय ६० केजी मास्क निर्यात भएको छ । माघमा भने मास्क निर्यात भएको छैन । असोज, पुस, फागुन र चैतमा केही थान मात्र फेस मास्क देश बाहिर गएको विभागको तथ्यांक छ । नेपालमा उत्पादित फेस मास्क निर्यात हुने देशहरूमा भुटान, फ्रान्स, जर्मनी, जापान, बेलायत, यूएई र अमेरिका छन् ।


प्रकाशन मिति–२०७८ साल बैशाख ११ गते शनिवार ।