काठमाडौं। नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ। बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो।

थपिएकाहरु तीनैजना पुरुष हुन्। २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष संक्रमित भएका हुन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमा बताएका छन्। त्यसैगरी, अहिलेसम्म सातजना उपचारपछि निको भएर घर फर्केका छन्।

बुधबार टेकु अस्पतालबाट ३२ वर्षीय पुरुष र सेती प्रादेशिक अस्पतालबाट ४० वर्षीय पुरुष गरी दुईजना ‘डिस्चार्ज’ भएका छन्। मंगलबार सेती अस्पतालबाटै २७ वर्षीय एक युवक डिस्चार्ज भएका थिए। अहिलेसम्म पीसीआरबाट ९ हजार ११ जनालाई परीक्षण गरिएको डा. देवकोटाले बताए।

त्यस्तै, ‘आरडीटी’बाट ३१ हजार ४२० गरी जम्मा परीक्षणको संख्या ४० हजार ४३१ पुगेको छ। मन्त्रालयले पछिल्लो २४ घन्टामा तीन हजार ७३६ ओटा परीक्षण गरिएको पनि बताएको छ। ८ हजार ५९५ जना ‘क्वारेन्टाइन’मा रहेका बताउँदै डा। देवकोटाले काठमाडौंमा तीनसहित देशभर ९५ जना ‘आइसोलेसन’मा रहेका जानकारी दिए।

हाल २६९ जना ‘रेड जोन’मा परेका छन्। स्वास्थ्य मन्त्रालयले १८ प्रकारका औषधि २३ टन भारतबाट प्राप्त गरेको र चीनबाट पीसीआर मेसिन दुईओटासहितका स्वास्थ्य सामग्री तातोपानीबाट ल्याउँदै गरेको पनि बताएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख १० गते बुधवार ।