काठमाडौं। चीनका विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणका लागि आइतवार साँझ काठमाडौं आईपुगेका छन्। १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका विदेशमन्त्री वाङ पाकिस्तान हुँदै साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायतले स्वागत गरेका थिए। विदेशमन्त्री वाङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सिधै गौशाला स्थित होटल द्वारिकाजमा गएका छन् । नेपाल र चीनबीच भोलि दिउँसो साढे तीन बजे परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुने भएको छ।

दुई देशबीच केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। वार्तामा पुराना सम्झौता कार्यान्वयनको समीक्षा र पुनरावलोकन पनि हुने बताइएको छ। चिनियाँ विदेशमन्त्री वाङले भोलि साँझ पाँच बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

त्यसलगत्तै विदेशमन्त्री वाङको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेट गर्नेछ। यस्तै मंगलबार बिहान वाङको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने तय भएको छ । मंगलबार अपरान्ह तीन बजे चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रकाशन मिति–२०७६ साल भदौं २२ गते आइतवार ।