काठमाडौं। नेपालमा सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाका अनुसार, पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हो। सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुन लागेको तीन दिन अगाडि सरकारले फेरि लकडाउन थप गर्ने निर्णय गरेको हो।

मन्त्री खतिवडाले परिस्थिति हेरि कुनै क्षेत्रमा लकडाउन खुकुलो बनाउने वा कतै कडा पार्ने भन्ने बारे कोभिड उच्चस्तरीय समितिले निर्णय गर्ने पनि बताएका छन्। त्यस्तैगरेर, सरकारले असार १६ गतेसम्म सीमा नाका र अन्तराष्ट्रिय उडान बन्द राख्ने निर्णय पनि गरेको छ।
प्रकाशन मिति–२०७७ साल जेठ १७ गते शनिवार।