काठमाडौं। नेपालमा केही दिनयता शीतलहर र हिमपातमा बृद्धि भएको छ। जसका कारण तराई तथा हिमाली क्षेत्रको जनजीवनमा व्यापक प्रभाव परेको छ। ज्यादै जाडोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा मारमा परेका छन् ।

विगतका वर्षहरुका तुलनामा यो वर्ष तराईमा एक महिनाअघि नै शीतलहर देखापरेको छ। बाक्लो हुस्सुले आकाश ढाकेका कारण तराइवासीले केही दिनयता घामसमेत देख्न पाएका छैनन्। कैलाली, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लाहरुमा शीतलहरको बढी प्रभाव देखिएको इमेज खवरले लेखेको छ। यस्तै, मध्य तराई र पूर्वी तराईका केही ठाउँमा पनि हुस्सु र कुहिरोसँगै पानीका थोपा झर्न थालेको छ। मौसमविद्काअनुसार अझै एक–दुई दिन यी क्षेत्रमा शीतलहर कायम रहनेछ।

हुस्सुले गर्दा बाटो स्पस्ट नदेखिने भएकाले सडक दुर्घटनाको जोखिमसमेत बढेको छ। अत्यधिक चिसोका कारण विद्यार्थीको उपस्थिति न्यून भएपछि कतिपय ठाउँमा शैक्षिक संस्था पनि बन्द गरिएको छ । चिसो बढेसँगै स्वास्थ्य संस्थामा निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप बढ्न थालेको छ। अर्कोतिर शीतलहरकै कारण बजारमा किनमेल गर्नेहरुको चहलपहलसमेत ह्वात्तै घटेको छ।
प्रकाशन मिति–२०७६ साल पुस ४ गते शुक्रवार ।