काठमाडौं। कोरोनाभाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको आज पाँचौे दिन पनि विहानै देखि सडक सुनसान देखिएको छ। सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ।

सुरक्षाकर्मीले सडकमा गुडेका प्रत्येक सवारीसाधनको चेकजाँचमा कडाइ गरेका छन्। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट ३३७ लाई नियन्त्रणमा लिएको छ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने १० महिलासहित उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सो क्रममा ७० मोटरसाइकल र पाँच चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको छ।

स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको प्रहरीले आज बिहान ८ बजेसम्मको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको हो। सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको थियो।

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि नेपालमा सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गतेसम्म अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो।
प्रकाशन मिति–२०७६ साल चैत १५ गते शनिवार ।