काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको महामारीविरुद्ध जुध्न २ खर्ब डलरको आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन्।कोरोनाभाइरसबाट उत्पन्न आर्थिक संकट निस्तेज पार्न ल्याइएको विधेयक कंग्रेसबाट पारित भएपछि ट्रम्पले हस्ताक्षर गरेका हुन्।

अमेरिकाको इतिहासकै यो सर्वाधिक ठूलो राहत प्याकेज हो। विधेयक अनुमोदन गर्ने क्रममा रिपब्लिकन र डेमोक्रयाट्कि एकमत भएका थिए। केही दिनको विवाद पछि गत बुधबार कंग्रेसको माथिल्लो सदन सिनेटले शून्यका विरुद्व ९६ मतसहित विधेयक पास गरेको थियो।

राष्ट्रपति ट्रम्पले सवारी साधन र त्यसका सामान उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी जनरल मोटर्सलाई भेन्टिलेटर उत्पादन गर्न आदेश दिएको छ। कोरोनाभाइरसका कारण संक्रमित भएकाहरुका लागि आवश्यक पर्ने भेन्टिलेटरको अभाव भएका बेला ट्रम्पले यस्तो आदेश दिएका हुन्।

यता अमेरिकामा अचानक बेरोजगारीको संख्या बढेको छ। ३० लाख व्यक्तिले बेरोजगारीको सूचीमा आफूलाई दर्ता गराएका छन्। यो तथ्यांकले अमेरिकी अर्थव्यवस्था गहिरो संकटमा गइरहेको देखाएको छ। महामारीका कारण व्यक्तिको जीवन निर्वाह र कम्पनीहरूको व्यवसाय प्रभावित भएको छ भने सीधा आर्थिक सहयोग गर्न सकिने व्यवस्था कानूनमा गरिएको छ।

प्रति वर्ष ७५,००० अमेरिकी डलर भन्दा कम कमाउनेहरूलाई १२०० अमेरिकी डलर दिने र प्रति बच्चा ५०० अमेरिकी डलर दिने व्यवस्था गरिएको छ। यसले राज्य सरकारलाई सीधा रकम उपलब्ध गराउने र बेरोजगारी सुबिधा कार्यक्रमलाई सहयोग पुर्‍याउने बताइएकोछ।

भाइरस सङ्क्रमण नफैलियोस् भनेर अधिकारीहरूले अमेरिकाभर रेस्टुरेन्ट, बार सिनेमाहल, होटेल र व्यायामशालाहरू बन्द गरिदिएका छन्। अर्थशास्त्रीहरूका अनुसार अमेरिकाको काम गर्ने समूहको हरेक पाँचजनामा एकजना व्यक्ति कुनै न कुनै किसिमको लकडाउनमा परेको छ।
(बीबीसी नेपाली सेवाको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल चैत १५ गते शनिवार ।