काठमाडौ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा भएको एक अध्ययनले नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मीहरू रहेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रको अगुवाइमा ४४ जिल्लामा गरिएको अध्ययनअनुसार २० हजार ६ सय २५ पुरुष यौनकर्मी अर्थात जिगेलो रहेका छन् ।

Sex worker in Nepal
Sex worker in Nepal

यौनकर्मीहरूको तथ्यांक संकलनका लागि केन्द्रको अगुवाइमा विकाससँग साझेदार अन्तर्राष्ट्रिय निकायको सहयोगमा इन्टरपिड नेपालले चार महिना लगाएर गरेको अध्ययनले नेपालमा पुरुष यौनकर्मीको संख्या बढ्दो मात्रामा रहेको समेत दाबी गरेको छ। पहिलोपटक सन् २०१० मा मुलुकमा महिला यौनकर्मीहरूको तथ्यांक संकलन गरिएको थियो ।

सो अध्ययनले २८ हजारको हाराहारीमा महिला यौनकर्मी रहेको देखाएको थियो। त्यसको ६ वर्षपछि गरिएको अध्ययनले सो संख्या बढेर झन्डै ५३ हजार पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ। अध्ययनले काठमाडौं उपत्यकामा मात्र महिला यौनकर्मीहरूको संख्या ११ हजार ६ सय ७० रहेको अनुमान गरेको छ ।

२०७३ भदौदेखि मंसिरसम्म गरिएको अध्ययनले नेपालमा १ लाख ११ हजार ८ सय ५२ पुरुषमध्ये करिब २४ हजारको हाराहारीमा तेस्रोलिंगी, २० हजार ६ सय २५ पुरुष यौनकर्मी तथा ६८ हजार ६४ समलिंगी पुरुष रहेको अनुमान छ ।

त्यसैगरी, अध्ययनबाट आएको नतिजाले नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेको संख्या करिब ३४ हजार रहेको अनुमान गरेको छ । जसमध्ये पुरुषको संख्या ३० हजारको हाराहारीमा र महिलाहरूको संख्या ३ हजारको हाराहारीमा छन् ।
प्रकाशन मिति–२०७३ साल फागुन ६ गते शुक्रबार ।