काठमाडौं। नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ भाउ बढाएको छ।

भारतीय आयल निगमले पठाएको मूल्यसूचीअनुसार सबै इन्धन (पेट्रोल, डिजेल, मटितेल र ग्यास)मा मूल्य बढेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले भनेका छन्। मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल-मट्टीतेलको ९८ रुपैयाँ कायम भएको हो। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

निगम समाचार स्रोतका अनुसार मूल्य समायोजनपश्चात् निगमको पाक्षिक नाफा करिब ७ करोड रुपैयाँ पुग्ने भएको छ। सरकारले विसं.२०७१ असोजवाट स्वचालित मूल्य लागू गरेको थियो। स्वचालित मूल्यअनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ। स्वचालित मूल्यअनुसार घटबढ भएमा सोही अनुसार गर्नुपर्ने निगमले तीन महिना यता मात्र यो मूल्य समायोजन गरेको हो।
प्रकाशन मिति–२०७६ साल बैशाख १९ गते विहीवार ।