काठमाडौं। नेपालमा सरकारले प्राकृतिक विपतका घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई तत्कालै नगद राहत दिने भएको छ। मन्त्रिपरिषद बैठकले विपतमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ। यदि एकै परिवार एक भन्दा बढीको मृत्यु भएमा एक जनाको २ लाख र अन्यको हकमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ दिने निर्णय गरेको हो।

त्यस्तै विपतबाट घर, आवास नष्ट भएमा वा खाद्यान्न बाली तथा जग्गा जमिन, पसल व्यवसाय नोक्सान भएमा पीडित परिवारले नगद राहत पाउनेछ। ५ जनासम्म सदस्य भएका परिवारलाई तत्काल १५ हजार र बढी भएमा २० हजार रुपैयाा दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।

विपतका घटनामा परी खाद्यान्न तथा हाल बसोबास गरिरहेको घर पूर्ण रुपमा नष्ट भएमा वा घर नष्ट नभए पनि जोखिम रहेमा सुरक्षित स्थानमा घर निर्माण गर्न सरकारले तत्काल १ लाख रुपैयाँसम्म सहायता दिनेछ। घाइतेलाई सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च र अस्पतालबाट घर जान प्रतिव्यक्ति १ हजार यातायात खर्च पनि सरकारले दिनेछ। क्षति भएको घर पुननिर्माणका लागि जिल्ला वन कार्यालयमार्फत सहुलियत दरमा काठ पनि दिने सरकारले निर्णय गरेको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र २ गते मंगलवार ।