काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको नेपालमा व्यापक बृद्धि भएपछि कोरोनाको हटस्पट हुन लागेको काठमाडौं उपत्यकामा एक हप्ताको लागि लकडाउन गर्ने निर्णय भएको छ।

आज भाद्र ३ गते बुधवार राति १२ बजेदेखि भाद्र १० गते राति १२ बजेसम्मलाई उपत्यकाका तीन शहर काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा अर्थात लकडाउन गरिएको हो। उपत्यकाका तीन सीडीओ र सुरक्षा प्रमुखको बैठक अनुसार उपत्यकामा निषेधाज्ञा (लकडाउन) को निर्णय भएको हो।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ जनकराज दाहाल, नारायणप्रसाद भट्ट र हुमकला पाण्डेसहित सुरक्षा प्रमुखबीच छलफलपछि एक साताका लागि निषेधाज्ञाको निर्णय भएको हो।

कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकाले संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम एकसातासम्म निषेधाज्ञाको निर्णय गरिएको जनाइएको छ।


प्रकाशन मिति–२०७७ साल भाद्र ३ गते बुधवार ।