काठमाडौं। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक नेपाली विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। फ्रान्सबाट यही चैत ४ गते मंगलवार नेपाल फर्किएकी १९ वर्षीया किशोरीमा कोरोनाभाइरसको संक्रमण भेटिएको हो।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फान्समा अध्ययनरत् ती किशोरीमा संक्रमण देखिएको पुष्टि गरेका छन्। ती किशोरीको काठमाडौंको टेकु अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न आएकी उनमा कोरोनाभाइरसको संक्रमण रहेको आइतबार (हिजो) साँझ पुष्टि भएको थियो। उनी नेपाल आएपछि ‘होम क्वारेन्टाइन’मा बसेकी थिइन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती युवतीको परिवारलाई क्वारेन्टाइनमा राखिएको भन्दै उनीसँगै जहाजमा आएका अन्य मानिस कहाँ–कहाँ छन् भनेर खोजी भैरहेको बताएका छन्। स्वास्थ्यमन्त्री ढकालले धैर्य नगुमाउन र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन्।

नेपालमा कोरोनाभाइरसको पुष्टि भएको यो दोस्रो घटना हो। यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ। आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ।
प्रकाशन मिति–२०७६ साल चैत १० गते सोमवार ।