काठमाडौं। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार चारदिने भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। विमान बंगलादेशको विशेष उडानबाट दिउँसो राष्ट्रपति हमिद नेपाल आएका हुन्।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका समकक्षी हमिद ४ दर्जनभन्दा बढीको प्रतिनिधिमण्डल लिएर नेपालको औपचारिक भ्रमणमा आएका हुन्। बंगलादेशका राष्ट्रपति हमिदलाई नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।

राष्ट्रपति हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसंगको शिष्टाचार भेटघाटबाहेक बिहीबार पोखरा र शुक्रबार चन्द्रागिरि केबल कारको अवलोकन भ्रमण गर्ने भएका छन्।
बंगलादेशका १९ औं राष्ट्रपति हमिद यसअघि बंगालादेशको नेशनल पार्लियामेन्टमा सभामुख थिए। ७५ वर्षीय राष्ट्रपति सन् १९७१ को बंगलादेश स्वतन्त्रता आन्दोलनदेखि सक्रिय राजनीतिमा रहीआएका थिए।


प्रकाशन मिति–२०७६ साल कात्तिक २६ गते मंगलवार ।