काठमाडौं। नेपालमा करिब नौं हजार मानिसको ज्यान लिएको महाभूकम्प आएको आज बैशाख १२ गतेवाट पाँच वर्ष पूरा भएको छ। महाभूकम्प पीडित नेपालीहरुको पीडामा विद्यमान कोरोनाको कारण समस्यामा थप समस्या भएको छ।

विसं.२०७२ साल वैशाख १२ गते अर्थात् आजैका दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्नेच्यूडको महाभूकम्प गएको थियो। यस महाभूकम्पमा परेर आठ हजार सात सय ९० मानिसको मृत्यु भएको थियो भने करिब २२ हजार नागरिक घाइते भएका थिए।

महाभूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर १४ जिल्लामा धेरै क्षति भएको थियो। खर्बौको क्षति हुने गरी ध्वस्त भएका भौतिक संरचनाहरु पाँच वर्ष पुग्दा पनि ठडिन सकेका छैनन् । भूकम्पबाट क्षति भएका घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवनलगायत संरचना पुनर्निर्माणको काम जारी नै छ ।

महाभूकम्पले सात हजार ५५३ विद्यालय, ९२० सांस्कृतिक सम्पदा, एक हजार १९७ स्वास्थ्य संस्था, ४१५ सरकारी भवन, सुरक्षा निकायका १९४ संरचना, ७६२ किमी सडक संरचना र एक हजारभन्दा बढी खानेपानी संरचनामा क्षति पुगेको थियो ।
महाभूकम्पले क्षति गरेका झण्डै ८८ प्रतिशत घर पुनर्निर्माण भएको, लाभग्राही सूचीमा परेका आठ लाख २७ हजारमध्ये पाँच लाख घर बनेको, एक लाख ९० हजार घर बन्ने क्रममा रहेको र बाँकी घर पनि यसै आर्थिक वर्षभित्रमा बनिसक्ने दावी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ।

करिब ७० हजार घरको प्रबलीकरणको काम बाँकी नै छ । भूकम्प प्रभावित ३२ जिल्लामा क्षतिग्रस्त सात हजार पाँच सय ५३ विद्यालयमध्ये पाँच हजार पाँच सय ९८ विद्यालय बनिसकेका छन्। एक हजार एक सय ९७ वटा स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको पनि जनाइएको छ।

९ सय २० वटा सम्पदामध्ये चार सय दुई वटा सम्पदाको पुनर्निर्माण भएको प्राधिकरणले जनाए पनि महत्वपूर्ण धरोहर मानिएका धरहरासहित रानीपोखरी, काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबारलगायतको पुनर्निर्माणको काम भने अझै सम्पन्न भएको छैन्। पुनर्निर्माण र पुनर्स्थापनाका काम भइरहेका बेला कोरोनाभाइरसको चुनौति थपिएको, वित्तीय स्रोतको व्यवस्थापन, भूकम्प प्रभावितलाई जीविकोपार्जनका कार्यक्रम जस्ता चुनौती कायमै रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको भनाई छ।


प्रकाशन मिति–२०७७ साल बैशााख १२ गते शुक्रवार ।