काठमाडौं। नेपालमा महाभूकम्प गएको आज बैशाख १२ गतेवाट पाँच बर्ष पूरा भएको छ। आजको दिन महाभूकम्पको नाम मात्र सुन्दा पनि धेरैको मुटु काम्ने गरेको छ। गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्नेच्यूडको महाभूकम्पले करिब नौ हजारको ज्यान लिएको र २२ हजारभन्दा बढीलाई घाइते बनाएको यो महाभूकम्पलाई संझदा पनि मुटु काम्ने गरेको अनुभव समाजसेवी अभिनेत्री अनिता केसीको रहेको छ।

आजैको दिन विसं.२०७२ साल बैशाख १२ गते शनिवारका दिन अभिनेत्री केसीको निवासस्थान ललितपुरको सानेपास्थित सयौं छिमेकीहरुको अभिनेत्री केसी अभिनित नेपाली ऐतिहासिक चलचित्र सेतोबाघ हेर्न जाने योजना थियो। काठमाडौं चावहिलस्थित गोपीकृष्ण सिनेमा हलमा नीर शाह निर्देशित चलचित्र सेतोबाघ दिउंसोको शो हेर्न टिकट बुक पनि भैसकेको थियो।

ठीक ११ बजेर ४५ मिनेटको समयमा सानेपा स्थित अढाई तल्ले घरको कौसीमा गएर वरपरका छिमेकीहरुलाई सेतोबाघ हेर्न जाने संझाउने कार्य भैरहेको थियो। वरपरका सवै छिमेकीहरु पनि सेतोबाघ हेर्न जाने व्यापक उत्साहमा थिए। त्यति नै बेला ११ बजेर ५५ मिनेट जाँदा एकाएक घर व्यापक हल्लिन थालेपछि हक्क न बक्क परेकी अभिनेत्री केसीलाई त्यतिधेरै घर हल्लिदा पनि महाभूकम्प आएको भनेर ज्ञान नै भएको थिएन।

अभिनेत्री केसी त अलमल परेर अढाई तल्लामाथिको कौसीमा नै बसिरहेकी थिइन। हतार हतार छोरो आएर महाभूकम्प आयो भनेर वोलाउन आएपछि भागम भाग गरेर चौरमा पुगेको त्यो क्षण र पललाई आजसम्म विर्सन नसकेको अभिनेत्री केसीले भिजन संसार डटकमलाई बताएकी छन्।

सानेपाको हाइटवाट बालाजु लगायतका काठमाडौंका विभिन्न स्थानमा घर भत्केको धुलो उडेको अनि मान्छेहरुको चिच्याहट लगायतका कोलाहल देखेको र सुनेको अझै आँखा र कानमा झझल्को रहेको अभिनेत्री केसीले सुनाएकी छन्। त्यसपछि गोपीकृष्ण हलमा सवै छिमेकीहरुलाई आफू अभिनित ऐतिहासिक नेपाली चलचित्र सेतोबाघ देखाउने प्लान कता हरायो–हरायो, ज्यान जोगाउनतिर नै सवै लागियो भनेर अभिनेत्री केसीको भनाई छ।

महाभूकम्पको लगातार कम्पनहरु गैरहेको कारण कैयन दिन सानेपाका चौतारा तथा चौरहरुमा बास बस्दा आफूलाई धेरैले चलचित्र कमाण्डो र सेतोबाघको नायिका भनेर चिनिएको र अझ त्यो बेला सेतोबाघ चलिरहेको कारण धेरैले सेतोबाघकी महारानी भनेर संवोधन गर्दा कलाकार हुनुको गौरबता महशुश भएको बताएकी छन्।

त्यसपछिका दिनमा महाभूकम्प पीडितहरुलाई आफूले सक्दो सहयोग गरेको बताउने अभिनेत्री केसीले वर्तमान समयमा कोरोनाको संक्रमणको कारण लकडाउनमा परेका अपाङ्गता भएका व्यक्तिहरुलाई सक्दो सहयोग गर्ने कार्य भएको छ। जुन सवैको लागि प्रेरणा भएको छ।


प्रकाशन मिति–२०७७ साल बैशााख १२ गते शुक्रवार ।