काठमाडौं। नेपालमा विगतमा जस्तो देशव्यापी लकडाउन नहुने भएको छ। नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका हुन।मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’

तर, नोवेल कोरोनाभाइरस (कोभिड–१९) को जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने मन्त्री खतिवडाले बताएका छन्। स्थानीय प्रशासनको निर्णय अनुसार केही जिल्लामा लकडाउन रहेको उल्लेख गर्दै उनले भने, ‘पूर्ण लकडाउन हुन्छ कि भनेर त्रस्त हुनुपर्ने अवस्था छैन्।’

संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको मन्त्री खतिवडाको भनाइ छ। अर्थमन्त्री समेत रहेका खतिवडाले लकडाउनले अर्थतन्त्रमा पारेको प्रभावको पनि विश्लेषण भइरहेको बताए।

उनले भने, ‘शरीर सुरक्षित राखेसँगै पेट पनि पाल्नु पर्ने अवस्था छ।’
संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै उद्धार भएर सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था नआईसकेको प्रवक्ता खतिवडाले बताए। जोखिम बढेकाले तत्काल नखोलौं भन्ने आवाज पनि आइरहेको उनले वताए। मन्त्री खतिवडाले भदौ १ गतेबाट खोल्ने भनिएका लामो दुरीका यातायात, अन्तर्राष्ट्रिय उडान लगायतका विषयमा पुनर्विचार हुनसक्ने संकेत गरे।
प्रकाशन मिति–२०७७ साल साउन २२ गते विहीवार ।