काठमाडौ। थाइल्याण्डको बैंककवाट काठमाडौ फर्किदै गरेको नेपाल बायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौ ल्याण्ड हुनैलाग्दा ककपिटमा विपरित दिशावाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले आक्रमण गरेको पुष्टि भएको छ। नेपाल बायुसेवा निगम उच्चस्रोतका अनुसार विमान ललितपुरको ठेचो नाँघेर हात्तिवनको आकाशमा विमान आइपुग्दा लेजर लाइटको आक्रमण भएको हो।

Ledger Light attacked

१ सय ४० जना यात्रु बोकेर आएको विमान ल्याण्ड हुनेबेलामा यसप्रकारको आक्रमण हुंदा क्याप्टेनको आँखामा असर परेको थियो। क्याप्टेनको आँखामा लेजर लाइटको असर परेपछि कोपाइलटले तत्काल स्थितिलाई सम्हाल्न सकेकोले अप्रिय घटना हुन पाएन। नत्र ठूलो दूर्घटना हुने थियो भनेर निगमले भनेको छ। ४० सेकेण्डसम्म भएको लेजर लाइटको आक्रमण विरुद्ध त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निगमले लिखित उजुरी गरिसकेको निगम स्रोतले भनेको छ।

सोमवार निगमका तर्फवाट नेपाल नागरिक उड्डयन प्राधिकरणलाई घटनाको विस्तृत प्रतिवेदन पनि दिइएको छ। विदेशमा यसप्रकारको आक्रमण हुने घटना हुने गरेतापनि नेपालको आकाशमा यस प्रकारको लेजर लाइटको आक्रमण यसअघि कहिले पनि भएको थिएन। यस घटनाले नेपालमा पनि अपराधिक घटना गराउने गिरोह सक्रिय भएको अनुमान गरिएको छ। यस उपर छानविन गरेर तुरुन्त कारवाही गर्नुपर्ने निगमको कडा माग पनि रहेको छ।
प्रकाशन मिति–२०७३ साल भदौ ७ गते मंगलवार ।