काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले दुई तिहाइ समर्थनप्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कमजोर ठानेमा उसको भूल हुने बताएका छन्।

सरकार विरूद्ध सोमबार काठमाडौंमा आयोजित प्रदर्शनपछि कोणसभामा काठमाडौं क्षेत्र नंबर १ को प्रतिनिधिसभा सदस्य समेत रहेका सिंहले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार विधिको शासनमा चुकेको आरोप लगाए। राणा, पञ्चायत र राजतन्त्र ढाल्न नेतृत्व गरेको कांग्रेसको जिम्मेवारीपनलाई सरकारले कमजोरी ठान्यो भने जनताले जवाफ दिन्छन्। त्यो समयमा यो सरकारले विदा लिन्छ,’नेता सिंहले भने।

वाइड बडी खरिदमा भ्रष्टाचार छानबिन नगरेको, मेलम्ची निर्माण कार्य छिटो पूरा नगरेको, रानी पोखरी पुनर्निर्माण नगरेको, जनताको सुरक्षा गर्न सरकार असफल भएको भन्दै सिंहले सरकारको आलोचना गरे।

‘दुई तिहाइ हुँदैमा सरकारले जनवादी केन्द्रीयताको सपना नदेखे हुन्छ,’ उनले भने, ‘संविधान कार्यान्वयन कम्युनिष्टले नसके कांग्रेसले कार्यान्वयन गर्छ।’

प्रकाशन मिति–२०७५ साल माघ २१ गते सोमवार ।