Bijay-Kumar-Gachhadar

काठमाडौ। नेपालको राजनीतिमा पटक–पटक मन्त्री तथा उपप्रधानमन्त्री बन्ने रेकर्ड राख्न सफल तथा अत्यन्त चतुर मानिएका नेता विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समाहित भएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी एकता कार्यक्रममा दुई पार्टीबीच एकताका लागि भएको सहमतिपत्र सार्वजनिक गर्दै दुई पार्टी एक भएको घोषणा गरिएको हो। गच्छदार नेपाली कांग्रेस छोडेर २०६४ साल माघमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा गएका थिए । तर, पछि आफैंले नेतृत्व गर्नेगरी नयाँ पार्टी बनाएका थिए।

‘नेपालमा वामपन्थीहरुको एकतासहित दुई तिहाइ सिट ल्याएर संविधान संशोधन गर्दै जनवादतर्फ लैजाने षड्यन्त्र भएपछि पार्टी एकता’ गर्नुपरेको दुवै दलले जनाएका छन्।
उनीहरुले मधेसी जनताले उठाएको माग पूरा गर्न संविधान संशोधन गरेरै जाने दृढता व्यक्त गरेका छन् । एकता घोषणासभामा बोल्दै नेता गच्छादारले वामपन्थीहरु एक भएर संविधान संशोधन गर्दै लोकतन्त्रलाई नै मास्ने खतरा देखेपछि लोकतन्त्र बचाउन आफू कांग्रेसमा आएको बताए।

Bijay Gachhedar in Nepali Congress

गच्छदारले कांग्रेसले नेतृत्व गर्ने गठबन्धनले बहुमत ल्याएमात्र जनताको समृद्धि सम्भव हुने बताए । बोल्नेक्रममा अत्यन्त भावुक बनेका गच्छदारले आफूले कांग्रेसलाई एक नम्बर पार्टी बनाउन कुनै कसर बाँकी नराख्ने बताए। गच्छेदारको भावुकतामा देखिएको गजबको नयाँ राजनीति देख्ने बालुवाटार दरबारका कांग्रेसीहरु समेत भावुक बनेका थिए।

संविधान जारी गर्नेक्रममा १६ बुँदे सहमति बनाउन आफूले निकै मिहिनेत गरेको स्मरण गर्दै गच्छदारले मधेस र थारु जनताको माग सम्बोधन गर्न आफूले नयाँ पार्टी बनाएर काम गरेको प्रष्टीकरण दिए । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गच्छदारको प्रवेशले कांग्रेस र लोकतन्त्रवादी शक्तिलाई ऊर्जा मिलेको भन्दै गच्छदार कांग्रेसको नेतृत्व तहमै रहेर काम गर्ने विश्वास दिए।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वामपन्थीहरु एक भएर लोकतन्त्र मास्ने अभियानमा जुटेकाले लोकतन्त्रको रक्षार्थ लोकतन्त्रवादीहरु एक भएको बताए । उनले गच्छादारको कांग्रेसमा आवागमनले लोकतन्त्रवादीहरुलाई ठूलो ऊर्जा मिलेको बताए ।
कार्यक्रममा कांग्रेस र लोकतान्त्रिक फोरमबीच भएको सहमति वाचन गर्दै नेता जितेन्द्र देवले लोकतन्त्र बचाउनकै लागि दुई दलबीच एकता गरिएको भनेका छन्।
प्रकाशन मिति–२०७४ साल असोज ३० गते सोमवार ।