काठमाडौ। नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज लक्ष्मीपूजाको दिन १०८ औ जन्म–जयन्ती परेको छ। महाकवि देवकोटा जयन्तीको अवसरमा नेपाल र नेपाल बाहिर विभिन्न स्थानमा आज देवकोटा जयन्ती भव्य रुपमा मनाउने कार्यक्रम भैरहेको छ।

विक्रम संवत् १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्य लक्ष्मीदेवी देवकोटाका साहिँलो छोराका रुपमा काठमाडौंको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो। दश वर्षको उमेरबाट साहित्य रचना लेखन थालेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।

laxmi-prd-devkota

नेपाली साहित्यमा स्वच्छन्दतावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृति प्रेम र समाज सुधारका भाव पाइन्छन्। देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भएको पाइन्छ।

तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने अलौकिक क्षमता देवकोटासँग थियो। उनको खण्डकाव्य मुनामदन त नेपालमा धेरै बिक्री हुने साहित्यिक कृतिमा पर्दछ। महाकवि देवकोटाका प्रमुख कृतिमा सुलोचना, प्रमिथस, शाकुन्तल, महाराणाप्रताप, भक्त प्रह्लादलगायत ६ वटा महाकाव्य र मुनामदन, कुञ्जिनी, सावित्री सत्यवान, वनकुसुम जस्ता २१ वटा खण्डकाव्य छन्।

उनका ६ सय ४४ फुटकर कविता भेटिएका छन् । यस्तै दुईवटा निबन्ध संग्रह, एउटा उपन्यास उनले रचना गरेका छन्। महाकवि देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो।
प्रकाशन मिति–२०७३ साल कात्तिक १४ गते आइतवार । लक्ष्मीपूजा । गाईतिहार ।