काठमाडौं। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको नेतृत्वमा मेची–महाकाली अभियान शुरु भएको छ। देशभरका हेभी इक्विपमेन्ट व्यवसायीहरुको समस्याहरुको समाधान गर्न र गराउनका लागि महासंघले मेची–महाकाली अभियान शुरु गरेको हो।

काभ्रेको नमो बुद्ध नगरपालिकावाट शुरु भएको मेची–महाकाली अभियान सिन्धुली, उदयपुरको गाईघाट, सप्तरी, झापा, इलाम, विराटनगर,सुनसरीको इटहरीसम्म पुगेको छ। त्यहाँका हेभी इक्विपमेन्ट व्यवसायीहरुको कोभिड–१९ यता भएका विद्यमान समस्या लगायतका विषयमा अन्तरक्रिया भएको महासंघले जनाएको छ।

कोभिड–१९ यता हेभी इक्विपमेन्ट व्यवसायीहरुलाई पर्न गएको चर्को समस्या तथा अस्वस्थ प्रतिस्पर्धालाई रोक्न महासंघले गर्न सक्ने र गर्दैआएका कार्यहरुको स्थनीय तथा जिल्ला सदस्यहरुलाई अवगत गराउने कार्यको अलावा समस्या समाधानका लागि महासंघले गर्दैआएको भूमिकाका विषयमा विचार विमर्श भएको थियो।

विकास निर्माणमा हेभी इक्विपमेन्ट व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको र यस व्यवसायलाई अझ धेरै मर्यादित र संरक्षित बनाउनका लागि महासंघले जिम्मेवारीपूर्वक गहन रुपमा कार्य गर्दैआएको अध्यक्ष श्रेष्ठले वताएका छन्।

अध्यक्ष श्रेष्ठका अनुसार, मेची–महाकाली अभियान अन्तर्गत यही भाद्र १० गते शुक्रवारवाट पश्चिम नेपालको बाँकेको नेपालगञ्ज, सुदुरपश्चिमको धनगढी लगायतका स्थानमा पुग्ने भएको छ। त्यहाँको बस्तुस्थितिको अवलोकन गरेर समस्या समाधानका लागि अवलम्बन गर्ने महासंघको नीति तथा कार्यक्रम अन्तर्गत आफूहरुले कार्य गर्दैआएको पनि महासंघका अध्यक्ष श्रेष्ठले वताए।
प्रकाशन मिति–२०७९ साल भाद्र ८ गते बुधवार ।